रुसमा भूकम्प

रुसमा ८.८ म्याग्निच्युडको भूकम्प, जापान र अमेरिकामा सुनामी

आप्रवासन आप्रवासन

रुसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार बुधबार बिहान ८ बजेर २५ मिनेटमा भूकम्प गएको हो ।

कामाचाट्कास्थित प्रशान्त महासागरको १९ दशमलव ३ किलोमिटर गहिराइलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

यो कम जनसङ्ख्या भएको एक दुर्गम क्षेत्र हो ।

समुद्रमा केन्द्रबिन्दु बनाएकाले भूकम्पबाट ठुलो जनधनको क्षति भने हुन पाएन।

भूकम्पले निम्त्याएको परिस्थितिका कारण केही मानिस घाइते भएका छन् ।

रुसी अधिकारीहरूले अर्को एक महिनासम्म ७ दशमलव ५ म्याग्निच्युडसम्मका पराकम्प आइरहने भन्दै सतर्क रहन सर्वसाधारणलाई अपिल गरेका छन् ।

उता, यस भूकम्पका कारण रुस, जापान, अमेरिका र इक्वेडरमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।

भूकम्पपछि सोही क्षेत्रमा चार मिटरसम्मको सुनामी आएको छ।

जापानको होक्काइदो प्रान्तको उत्तरी क्षेत्रमा पनि सुनामीको लहर आइपुगेको छ ।

लहरको उचाइ करिब १२ इन्च रहेको छ ।

जापानी अधिकारीहरूले त्यस क्षेत्र खाली गराएका छन् ।

नागरिकहरूलाई समुद्री तटबाट टाढा र अग्ला स्थानमा जान अपिल गरिएको छ ।

इक्वेडरमा ३ मिटर अग्लो सुनामीका छालहरू आउन सक्ने चेतावनी दिइएको छ ।

अमेरिकाको हवाई, अलास्का र प्रशान्त तटमा सुनामी आउने चेतावनी जारी गरिएको छ।