अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेकै दिन पाकिस्तानसँग सम्झौता गरेका छन् ।
ट्रम्पले पाकिस्तानसँग मिलेर त्यहाँका विशाल तेल भण्डार विकास गर्ने सम्झौता गरेका हुन् ।
“हामीले भर्खरै पाकिस्तानसँग एउटा सम्झौता सम्पन्न गरेका छौँ, जसअनुसार अमेरिका र पाकिस्तानले मिलेर पाकिस्तानका विशाल तेल भण्डारहरूको विकास गर्नेछन्”, ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् ।
ट्रम्पले भविष्यमा पाकिस्तानले भारतलाई तेल बेच्न सक्ने समेत भन्न भ्याएका छन् ।
ट्रम्पले लेखेका छन्, “हामी यो साझेदारीको नेतृत्व गर्ने तेल कम्पनी छनोट गर्ने प्रक्रियामा छौँ । सम्भवतः एक दिन पाकिस्तानले भारतलाई तेल बेच्नेछ ।”
आजै मात्र ट्रम्पले रुससँग तेल र हतियार खरिद गरेको भन्दै भारतमाथि अगस्ट १ देखि २५ प्रतिशत भन्सार करको घोषणा गरेका थिए।
ट्रम्पले भारतसँगको व्यापारमा अमेरिकालाई एकपक्षीय घाटा भइरहेको जिकिर समेत गरेका छन् ।
तर त्यसको केही घण्टापछि पाकिस्तानलाई उत्साहित गर्ने गरी सम्झौता भएको हो ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकासँगको सम्झौतालाई ऐतिहासिक भनेका छन् ।
शरीफले एक्समा लेखेका छन्, “म राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गर्न चाहन्छु, जसले ऐतिहासिक अमेरिका–पाकिस्तान व्यापार सम्झौतालाई अन्तिम रूप दिन नेतृत्वदायी भूमिका निर्वाह गरे ।”