अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भारतविरुद्ध कडा अभिव्यक्ति दिएका छन् ।
अमेरिकी मिडिया फक्स रेडियोसँगको वार्ताका क्रममा रुबियोले भारतले रुसबाट तेल खरिद जारी राखेकै कारण युक्रेन युद्ध लम्बिन सघाउ पुगेको बताएका हुन् ।
भारतले रुससँग तेल खरिद गर्दा त्यसले रुसलाई वित्त पोषण मिलेको र युद्ध लड्न सहयोग मिलेको रुबियोको भनाई छ ।
रुबियोले भनेका छन्, “भारतले रुसबाट तेल किनिरहेको छ, जसले मूलतः युद्ध प्रयासलाई वित्त पोषण गर्न मद्दत गरिरहेको छ र युक्रेनमा यो युद्ध जारी राख्न सघाउ पुर्याइरहेको छ।”
रुबियोले भारतको यो कदमलाई द्विपक्षीय सम्बन्ध ‘चिढ्याउने विन्दु’ का रूपमा व्याख्या समेत गरेका छन्।
“रुसले विश्व बजारको तेलको मूल्यभन्दा कममा तेल बेचिरहेको छ । तर, दुर्भाग्यवश त्यसले रुसी युद्ध प्रयासलाई टिकाउन मद्दत गरिरहेको छ। त्यसैले यो निश्चित रूपमा भारतसँगको हाम्रो सम्बन्धमा चिढ्याउने विन्दु हो। हामीसँग तिनीहरूसँग सहयोगका अन्य धेरै विन्दुहरू पनि छन्”, उनले भने, “तर मलाई लाग्छ कि तपाईँले राष्ट्रपतिले व्यक्त गरेको कुरा हेर्दै हुनुहुन्छ, त्यो एकदमै स्पष्ट निराशा हो कि यति धेरै अन्य तेल बिक्रेताहरू उपलब्ध हुँदाहुँदै पनि भारतले रुसबाट यति धेरै किन्न जारी राख्छ, जसले मूलतः युद्ध प्रयासलाई वित्त पोषण गर्न मद्दत गरिरहेको छ र युक्रेनमा यो युद्ध जारी राख्न अनुमति दिइरहेको छ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल खरिद जारी रहेको भन्दै भारतमाथि ३५ प्रतिशत ट्यारिफ घोषणा गरेको भोलि पल्टै विदेशी मन्त्री रुबियोबाट यो किसिमको अभिव्यक्ति आएको हो ।
यसले अमेरिका र भारतबिचको सम्बन्धमा चिसोपना आएको सङ्केत गर्दछ ।