हमासले सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नबिसाउने दोहोर्याएको छ ।
गाजामा युद्ध बिरामका लागि हमासको निशस्त्रिकरणको इजरायलले राखेको मागको जवाफ फर्काउँदै हमासले सो कुरा बताएको बिबिसीले जनाएको हो ।
हमासले एक विज्ञप्ति जारी गर्दै जेरुसलेमलाई राजधानी बनाएको एक स्वतन्त्र, पूर्ण सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म ‘प्रतिरोध र हतियारको’ अधिकार त्याग्न नसक्ने बताएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूत स्टीव विट्कोफले ‘हमासले हतियार बिसाउन इच्छा व्यक्त गरेको’ भनेको केही दिनमै हमासले सो जवाफ फर्काएको हो ।
इजरायलले पनि गाजा युद्ध बिरामका लागि हमासले हतियार त्याग्नुपर्ने मागलाई प्रमुखताका साथ उठाएको छ ।
इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का लेफ्टिनेन्ट जनरल इयाल जमीरले गत शुक्रबारको वार्तापछि पनि हमासले बन्धक बनाएकाहरूलाई छिटो रिहा गर्न नसके गाजामा हुने लडाइँमा कुनै राहत नहुने चेतावनी दिएका छन् ।
उता, फ्रान्स र क्यानडासहित केही पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने योजना घोषणा गरेपछि अरब सरकारहरूले समेत हमासलाई हतियार त्याग्न र गाजाको नियन्त्रण सुम्पन आग्रह गरेका छन् ।