रुसी तेल खरिद

ट्रम्पको धम्कीका बावजुद भारतले रुसबाट तेल किन्न जारी राख्ने सङ्केत

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बावजुद भारतले रुसबाट तेल किन्न जारी राख्ने सङ्केत गरेको छ ।

भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध ‘स्थिर र समयद्वारा परीक्षित’ भएको र यसलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने बताएको छ ।

शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बजारमा तेलको उपलब्धता र विद्यमान विश्वव्यापी परिस्थितिबाट आफ्नो ऊर्जा आवश्यकता सुरक्षित गर्न भारतको व्यापक दृष्टिकोण निर्देशित भएको बताए ।

रुसी तेल खरिद गरेको कारण भारतबाट आउने सामानमा २५ प्रतिशत भन्सार शुल्क र अतिरिक्त आयात कर लगाउने ट्रम्पको घोषणापछि भारतको यो टिप्पणी आएको हो ।

पछिल्लो समय अमेरिकाले भारतले रुसबाट तेल किन्न जारी राख्दा त्यसले रुसलाई आर्थिक रुपमा पोषण दिइरहेको र युक्रेनसँग युद्ध लड्न सघाउ पुगिरहेको बताउँदै आएको छ र भारतप्रति कडा रबैया अपनाउन सुरु गरेको छ । 

भारतले सन् २०२२ जनवरीमा रूसबाट प्रतिदिन ६८ हजार ब्यारेल कच्चा तेल खरिद गरेको थियो तर सोही वर्षको जुनमा तेल आयात प्रतिदिन ११ लाख २० हजार ब्यारेल पुगेको थियो ।

दैनिक आयात सन् २०२३ मे महिनामा २१ लाख ५० हजार ब्यारेल पुगेको थियो र त्यसबेलादेखि फरक–फरक रहेको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाले डाटा एनालिटिक्स कम्पनी केप्लरको तथ्याङ्क उद्धृत गर्दै रिपोर्ट गरे अनुसार आपूर्ति एक समयमा भारतको आयातको झण्डै ४० प्रतिशतसम्म पुगेको थियो, जसले मस्कोलाई नयाँदिल्लीको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता बनाएको थियो ।

भारतको दैनिक तेल खपत लगभग ५५ लाख ब्यारेल रहेको छ र त्यसमध्ये झण्डै ८८ प्रतिशत आयातबाट पूरा हुन्छ ।

भारत चीन र अमेरिकापछि विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता हो । पश्चिमी देशहरूले रुसलाई सजाय दिन रुसी तेल बहिष्कार गरेपछि भारतले भने सस्तोमा रुसी तेल किन्न थालेको हो ।