रुस र इरानबाट तेल खरिद

अमेरिकी चेतावनी बाबजुद चीनले रुस र इरानबाट तेल किन्न जारी राख्ने

आप्रवासन आप्रवासन

चीनले अमेरिकी दबाब र चेतावनीका बाबजुद रुस र इरानबाट तेल किन्न जारी राख्ने भएको छ ।

चीनको विदेश मन्त्रालयले अमेरिकी मागलाई अस्वीकार गरेको हो।

सामाजिक सञ्जाल, एक्समा मन्त्रालयले लेखेको छ, “चीनले राष्ट्रिय हितलाई ध्यानमा राख्दै आफ्नो ऊर्जा आवश्यकताको आपूर्ति सधैँ सुनिश्चित गर्नेछ। दबाब र जबरजस्ती सिर्जना गरेर केही पनि हासिल हुने छैन। चीनले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकास हितको दृढतापूर्वक रक्षा गर्नेछ।

चीन र अमेरिकी अधिकारीहरू स्टकहोममा व्यापार सम्झौतालाई अन्तिम रूप दिन जुटेका बेला चीनको यो प्रतिक्रिया सार्वजनिक भएको हो ।

अमेरिकाले रुस र इरानबाट कच्चा तेल खरिद गर्ने देशहरूमाथि कडाइ गरिरहेको छ ।

रुसबाट तेल खरिद गर्दा उसलाई युक्रेनसँग युद्ध लड्न सहयोग पुगिरहेको अमेरिकी भनाइ छ ।

यस्तै, इरानले तेल बिक्रीबाट प्राप्त रकमले पश्चिम एसियामा आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गरिरहेको अमेरिकी आरोप छ ।

यिनै आरोपका माझ भारतले रुसबाट तेल खरिद जारी राखेको भन्दै अमेरिकाले भारतमाथि २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेको छ ।

अमेरिकाले रुस र इरानबाट तेल खरिद गरेकोमा चीनमाथि १०० प्रतिशत कर लगाउने चेतावनी समेत दिएको छ।

सोही सन्दर्भमा चीनको पछिल्लो भनाई आएको हो ।