भारत-अमेरिका टकराव

ट्रम्पलाई भारतको जवाफ-अमेरिका आफैँ रुससँग व्यापार गरिरहेको छ

आप्रवासन आप्रवासन

रुसी तेल खरिदको विषयमा भइरहेको भारतको आलोचनाप्रति भारतले जवाफ फर्काएको छ ।

भारतीय विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै अमेरिका र युरोपेली सङ्घद्वारा भारतप्रति गरिएको निशानालाई ‘अनुचित र अविवेकपूर्ण’ भन्दै निन्दा गरेको हो ।

रुसबाट तेल आयात आवश्यकताले प्रेरित भएको र भारतबारे आलोचना गर्ने मुलुकहरू आफैँले रुससँग व्यापार गरिरहेको भारतको भनाई छ ।

भारतको तुलनामा युरोपेली सङ्घले सन् २०२४ मा रुससँग साढे ६७ अर्ब युरो बराबरको वस्तु व्यापार गरेको तथा २०२३ मा १७ अर्ब युरो बराबरको सेवा व्यापार गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

यो भारतको कुल व्यापारभन्दा धेरै भएको मन्त्रालयले स्मरण गराएको छ।

यस्तै, अमेरिकाले पनि आणविक उद्योगका लागि युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी साधनका लागि प्यालाडियम, मल र रसायनहरू रुसबाटै आयात गरिरहेको भारतको भनाई छ ।

यस कारण आफूलाई मात्र निशाना बनाइनु अनुचित हुने भारतको तर्क छ ।

भारतले रुसी तेल आयात गर्दा रुसलाई युक्रेनसँग युद्ध लड्न सघाउ पुगिरहेको भन्दै भारतप्रति अमेरिकाले कडा रवैया अपनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार लगाएका छन् भने अतिरिक्त कर लगाउने चेतावनी दिएका छन् ।

यसै पृष्ठभूमिमा भारतले ट्रम्प र पश्चिमा देशहरूलाई जवाफ फर्काएको हो ।