अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएको ५० प्रतिशत भन्सारलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक प्रतिक्रिया दिएका छन् ।
बिहीबार राजधानी नयाँ दिल्लीमा भएको एमएस स्वामीनाथन शताब्दी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्ने क्रममा मोदीले किसानको हित विपरीत कुनै सम्झौता नगर्ने बताएका हुन् ।
मोदीले भारतीय किसानहरूको हित आफ्नो लागि सर्वोच्च प्राथमिकता भएको भन्दै त्यसको लागि जुनसुकै मूल्य चुकाउन परे पनि तयार रहेको समेत बताएका छन् ।
मोदीले भनेका छन् ‘भारतले किसान, माझी र दुग्ध उत्पादकहरूको हितमा कहिल्यै सम्झौता गर्नेवाला छैन । मलाई व्यक्तिगत रूपमा थाहा छ, मैले यसको लागि ठुलो मूल्य चुकाउनुपर्नेछ तर म त्यसको लागि तयार छु ।’
मोदीको यो भनाई अमेरिकी कृषि उत्पादन भारत प्रवेशको विषयमा कुरा नमिलेर २ देशबिच व्यापार सम्झौता हुन नसकिरहेको सन्दर्भमा आएको हो ।
यद्यपि, मोदीको यो भनाई घुमाउरो पारामा ट्रम्पप्रति इङ्गित रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुसबाट तेल खरिद गरेको भन्दै सुरुमा २५ प्रतिशत र जरिवाना स्वरूप पुन: २५ गरी ५० प्रतिशत भन्सार घोषणा गरेका छन् ।
यद्यपि, ट्रम्पले भारतमाथि अझ भन्सार बढ्न सक्ने चेतावनी दिएका छन् ।
यस पृष्ठभूमिमा मोदीको प्रतिक्रियालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।