उत्तराखण्डमा सम्पर्कविहीन नेपाली

उत्तराखण्डमा सम्पर्कविहीन नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु: परराष्ट्रमन्त्री

आप्रवासन आप्रवासन

परराष्ट्र मन्त्री डा. आरजु राणाले भारतको उत्तराखण्डमा सम्पर्कविहीन नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको बताएकी छिन् ।

मन्त्री राणाले नेपाली दूतावासलाई उत्तराखण्डमा हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारतसँग समन्वय गरेर तदारुकताका साथ लाग्न निर्देशन दिइएको जनाएकी हुन्।

सामाजिक सञ्जालमा लेख्दै परराष्ट्र मन्त्री राणाले भनिन्, ‘उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारुकताका साथ लाग्न निर्देशन दिएकी छु ।’

साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक बाढी र पहिरो आएको थियो ।

जसमा नेपालीहरू समेत बेपत्ता भएको समाचार छ ।

उक्त बाढी पहिरोपछि जाजरकोटको कुशे गाउँपालिकाका १३ जनाभन्दा बढी सम्पर्कविहीन भएको गाउँपालिकाले पुष्टि गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म उक्त बाढी पहिरोमा भारतीय सेनाका ९ जवानसहित १०० भन्दा बढी बेपत्ता छन् ।