आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनेको छ । तर हामीले ‘उपयोगी’ भनेर राख्ने धेरै एपहरू वास्तवमा अनावश्यक छन् । यस्ता एपले फोनको गति सुस्त बनाउँछ, ब्याट्री चाँडै सकिन्छ, र कहिलेकाहीं तपाईंको व्यक्तिगत जानकारीसमेत जोखिममा पार्छ । विशेषज्ञहरूको सुझाव छ, यी आठ किसिमका एपहरू फोनमा राख्न जरुरी छैन । हटाउँदा फोन हल्का हुन्छ, छिटो चल्छ र सुरक्षित पनि रहन्छ ।
१. फ्ल्यासलाइट एप
आजको स्मार्टफोनमा फ्ल्यासलाइट सुविधा पहिले नै इन–बिल्ट हुन्छ। छुट्टै एपको कुनै जरुरत छैन। यस्ता एपले अनावश्यक विज्ञापन देखाउँछ, लोकेसन र कन्ट्याक्ट्सजस्ता अनुमति माग्छ, जसले सुरक्षा जोखिम बढाउँछ ।
२. क्यूआर स्क्यानर एप
आईफोन होस् या एन्ड्रोइड, दुवैमा क्यामेराले क्यूआर कोड सजिलै स्क्यान गर्छ। छुट्टै एप राख्दा विज्ञापन देखिनुका साथै फोनको स्पीड पनि घट्न सक्छ।
३. ब्याट्री सेभर एप
नाममा "बचत" भए पनि यस्ता एपले झन् ब्याट्री खपत गर्छन्। IOS वा Android को आफ्नै 'लो पावर मोड' वा 'ब्याट्री सेभिङ' मोड सबैभन्दा प्रभावकारी उपाय हो।
४. कम्पास एप
सामान्य दिशाको लागि फोनमै कम्पास एप हुन्छ। बाहिरी कम्पास एपले आकर्षक देखिए पनि अनावश्यक डेटा संकलन गर्न सक्छ, जुन सुरक्षाका दृष्टिले घातक हुन सक्छ।
५. र्याम बुस्टर एप
IOS वा Android दुबैले सिस्टम स्तरमै मेमोरी व्यवस्थापन गर्छन् । र्याम बुस्ट गर्ने बाहिरी एपले उल्टो फोनलाई सुस्त बनाउने खतरा ल्याउँछ।
६. मिरर एप
ऐनाको नाममा आउने मिरर एप वास्तवमा तपाईंको सेल्फी क्यामेरा नै हो। फोनको अगाडिको क्यामेरा खोले पुग्छ । यस्तो एपले अनावश्यक अनुमति माग्न सक्छ ।
७. कल रेकर्डर एप
IOS 18.1 पछि आईफोनमै कल रेकर्ड सुविधा आएको छ । बाहिरी एप प्रयोग गर्दा कल डेटा अन्यत्र पठिने जोखिम हुन्छ, जुन तपाईंको गोपनीयतामै ठूलो खतरा हो ।
८. एन्टिभाइरस एप
आईफोन प्रयोगकर्तालाई एन्टिभाइरस आवश्यक हुँदैन। IOS मा रहेको स्यान्डबक्सिङ प्रविधिले भाइरस फैलनै दिँदैन। यस्तो एपले प्रायः डर देखाएर अन्य सेवा बेच्ने काम गर्छ ।