युरोपेली देशहरुले रुस र अमेरिकाका राष्ट्रपतिहरुको आसन्न वार्तामा युक्रेनलाई पनि समावेश गर्नुपर्ने धारणा राखेका छन् ।
बिबिसीका अनुसार बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्यान्ड, फिनल्यान्ड र युरोपेली आयोगका नेताहरूले एक संयुक्त वक्तव्य जारी गर्दै शान्ति वार्तामा युक्रेनको सहभगिता अनिवार्य भएको बताएका हुन् ।
“युक्रेनमा शान्तिको बाटो युक्रेनबिना तय गर्न सकिँदैन,” जारी संयुक्त वक्तव्यमा भनिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच यही शुक्रबार अलास्कामा भेटघाट हुँदैछ ।
भेटमा रुस-युक्रेन जारी युद्ध अन्त्य प्रमुख एजेण्डा रहने बताइएको छ ।
तर उक्त वार्तामा युक्रेनी टोलीलाई भने निम्तो गरिएको छैन् ।
यही सन्दर्भमा युरोपेली देशहरुको पछिल्लो वक्तव्य आएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबिना गरिएका कुनै पनि सम्झौता ‘मृत निर्णय’ हुने प्रतिक्रिया दिएका छन् ।
जेलेन्स्कीले भने, “हामी रुसलाई उसले गरेको कुकर्मका लागि पुरस्कृत गर्ने छैनौँ । हाम्रो विरुद्धमा गरिएका कुनै पनि निर्णय, युक्रेनबिना गरिएका कुनै पनि निर्णय, शान्तिको विरुद्धमा हुनेछ ।”