तपाईँहरू मध्ये धेरैलाई सुन्दा अचम्म लाग्न सक्छ । तर अहिले दक्षिण कोरियाको सेनामा भर्ती हुन मान्छे पाइनै मुस्किल परिरहेको छ ।
दक्षिण कोरियामा जन्मदर न्यून छ, जनसङ्ख्या घटिरहेको छ, भएका युवाहरू पनि सेनामा भर्ती हुन चाहँदैनन् ।
यसको असर त्यहाँको सेनामा समेत पर्न थालेको हो ।
रक्षा मन्त्रालयले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार दक्षिण कोरियाको सेनाको सङ्ख्या पछिल्लो ६ वर्षमा २० प्रतिशतले घटिसकेको छ ।
हाल दक्षिण कोरियामा सेनाको सङ्ख्या ४ लाख ५० हजार छ ।
प्राविधिक रूपमा दक्षिण कोरिया अझै पनि छिमेकी उत्तर कोरियासँग युद्धमा छ र जुनसुकै बेला पूर्ण युद्ध हुन सक्छ ।
यस्तोमा उत्तर कोरियासँग कम्तीमा पनि ५ लाख सेना हरदम हुनु आवश्यक मानिन्छ ।
तर सेनाको सङ्ख्या त्यो भन्दा कम छ र लगातार घटिरहेको छ ।
रक्षा मन्त्रालयका अनुसार सन् २००६ देखि सेनामा डिभिजनहरूको सङ्ख्या ५९ बाट घटेर ४२ मा झरेको छ ।
यी एकाइहरू कि त विघटन गरिएका छन् वा गाभिएका छन्।
छिमेकीसँग युद्ध भइहाले सेनासँगै १३ लाख सक्रिय उमेरका युवाहरूको तैनाथी आवश्यक रहेको मानिन्छ ।
सोही कारण दक्षिण कोरियामा सबै सक्षम पुरुषलाई १८ महिनाको सैन्य सेवा तालिम अनिवार्य छ ।
तर देशका धेरै युवाहरूमा सैन्य सेवा अलोकप्रिय छ ।
जसले गर्दा विभिन्न बहाना बनाएर सैन्य तालिम छल्ने युवाको सङ्ख्या समेत बढ्दो छ ।
जसको प्रत्यक्ष असर सेनाको सङ्ख्यामा पर्दै गएको हो ।
तर यस अवस्थाको मुख्य जडका रूपमा देशको निराशाजनक जन्मदरलाई मानिन्छ ।
दक्षिण कोरियामा जन्म दर ० दशमलव ७५ बच्चा प्रति महिला छ ।
यो विश्वको सबैभन्दा न्यून जन्म दर हो ।
विज्ञहरूले यो प्रवृत्ति जारी रहेमा सेना मात्र हैन देशको जनसङ्ख्या ६० वर्षमा आधा हुन सक्ने चेतावनी दिएका छन्।