अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गरेका छन् ।
ट्रम्पले सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै राजधानीको प्रहरी विभागलाई केन्द्रीय नियन्त्रणमा लिएका छन् ।
उनले प्रहरी शक्तिलाई नियन्त्रणमा लिँदै सहरलाई अपराधमुक्त बनाउने तथा घरबारबिहीनरहित राजधानी बनाउने योजना सफल पार्न सुरक्षा गार्ड तैनाथ गरेको बताएका छन्।
वासिङ्टन डीसीमा ८०० नेसनल गार्ड सैनिकहरूलाई तैनाथ गरिएको छ ।
यी सैनिकहरूले आपराधिक गिरोहहरूलाई नियन्त्रणमा लिने कार्यमा संघीय कानुन प्रवर्द्धन अधिकारीहरूलाई सहयोग गर्नेछन् ।
ट्रम्पले वासिङ्टन डीसीमा हत्याको दर पृथ्वीको सबैभन्दा खराब स्थानमाभन्दा पनि उच्च रहेको र कार चोरीका घटनाहरूमा समेत वृद्धि भएको बताएका छन् ।
तर वासिङ्टन डीसीकी मेयर मुरियल बोउजरले राष्ट्रपतिका अपराधसम्बन्धी दाबीहरूलाई अस्वीकार गर्दै सन् २०२३ मा अपराधमा वृद्धि भएको भए पनि तथ्यांकले त्यसयता अपराध घटेको बताएकी छन् ।
सहरमा हिंसात्मक अपराध पनि ३० वर्षकै न्यून बिन्दुमा रहेको उनको दाबी छ ।