त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अन्तर्राष्ट्रिय यात्रुहरूलाई उडान समयभन्दा १ घण्टाअघि नै प्रस्थान तर्फको अध्यागमन क्षेत्रमा आइपुग्न अनुरोध गरेको छ।
विशेष गरी रातीको समयमा प्रस्थान डेस्कमा यात्रुहरूको अत्यधिक चाप रहेको भन्दै अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै सो आग्रह गरेको हो ।
कार्यालयले रातीको समयमा हवाई उडान तालिका लचिलो बनाई अगाडि पछाडि सार्न नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिएको समेत जनाएको छ ।
यस्तै, कार्यालयले सबै अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूलाई यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा १ घण्टा अगावै चेक-इन गराई अध्यागमन क्षेत्रमा प्रवेश गराउने व्यवस्था गर्न समेत अनुरोध गरेको छ ।