अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बिच छलफल भएको छ ।
ह्वाइट हाउसमा भएको छलफलमा युरोपका सात जना सरकार प्रमुखहरू पनि सहभागी भएका थिए ।
छलफल जारी रुस युक्रेन युद्ध अन्त्य र युक्रेनको सुरक्षा ग्यारेन्टी बारेमा केन्द्रित थियो।
नेताहरूले छलफल सकारात्मक भएको बताएका छन् ।
छलफलअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि फोन वार्ता गरेका थिए ।
छलफल लगत्तै ट्रम्पले जेलेन्स्की र पुटिनबिच चाँडै नै वार्ता गराउने र त्यसमा आफू पनि त्यसमा सहभागी हुने घोषणा गरेका छन्।
गत शुक्रबार मात्रै ट्रम्पले अलास्कामा पुटिनसँग भेटवार्ता गरेका थिए।
त्यो भेट लगत्तै युक्रेनका राष्ट्रपति जेलेन्स्की र युरोपेली नेतासहित ह्वाइट हाउस पुगेका हुन्।
उनीहरू बिचको छलफलपछि ट्रम्प र जेलेन्सकी मिडियाको सामुन्ने आएका थिए ।
जसमा हवाइट हाउसको यसअघिको तितो वातावरण विपरीत उनीहरू निकै सौहार्दपूर्ण रूपमा प्रस्तुत भएका थिए ।
त्यहाँ जेलेन्सकीले लगाएको कोटको चर्चा भएको थियो र पत्रकारसँग हाँसी मजाक समेत चलेको थियो ।
बैठकमा जेलेन्सकीले सैनिक शैलीको एक कालो सुट लगाएका थिए ।
जेलेन्स्कीले पनि ट्रम्पसँगको वार्तालाई सकारात्मक भन्दै आफू पुटिनसँग जुनसुकै स्वरूपको बैठक गर्न तयार रहेको बताएका छन् ।
अबको बैठक ट्रम्प, पुटिन र जेलेन्सकी बिच हुने छ ।
जुन जारी युद्ध अन्त्यको लागि महत्त्वपूर्ण हुने अपेक्षा छ ।