गाजामा युद्धविराम प्रयास

गाजामा युद्धविराम गर्न हमास तयार, सबै बन्धक रिहा गर्नुपर्ने इजरायलको माग

आप्रवासन आप्रवासन

इजरायलले गाजामा बन्धक बनाइएका सबै जना तत्काल रिहा हुनुपर्ने माग गरेको छ ।

हमासले गाजामा युद्ध विराम गर्न तयार रहेको बताएको भोलि पल्ट इजरायलले सो माग अघि सारेको हो ।

बिबिसीका अनुसार इजरायलको यस मागले हमासले सहमति जनाएको ६० दिने नयाँ युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गर्छ वा गर्दैन भन्नेमा शङ्का उत्पन्न गरेको छ ।

कतार र इजिप्टले प्रस्तुत गरेको यो प्रस्तावमा आधा बन्धकहरूलाई मुक्त गर्ने प्रावधान छ ।

कतारका अनुसार, यो प्रस्ताव इजरायलले यसअघि स्वीकार गरेको अमेरिकी प्रस्तावसँग लगभग मिल्दोजुल्दो छ ।

इजरायलले प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन ।

तर, इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले इजरायल आंशिक सम्झौतामा रुचि नराख्ने बिबिसीलाई बताए ।

“अहिले परिस्थिति बदलिएको छ । प्रधानमन्त्रीले गाजाको भविष्यका लागि योजना राखेका छन्,” मेन्सरले भने ।

प्यालेस्टिनी स्रोतहरूका अनुसार, यो प्रस्तावमा १० जना जीवित र १८ जना मृत बन्धकहरूलाई हस्तान्तरण गर्ने र दुवै पक्षले स्थायी युद्धविराम र अन्य बन्धकहरूको फिर्ताका लागि वार्ता गर्ने उल्लेख छ ।

हमाससँग अझै पनि नेपाली विद्यार्थी विपिन जोशीसहित ५० जना बन्दीहरू रहेको अनुमान छ ।

तर त्यसमध्ये करिब २० जना मात्र जीवित रहेको अनुमान छ ।

जसमध्ये विपिनको अवस्था अज्ञात छ ।