कुवेत विषाक्त मदिरा घटना

कुवेतको विषाक्त मदिरा घटना: मृतक ४ नेपालीको शव काठमाडौँ ल्याइयो

आप्रवासन आप्रवासन

कुवेतमा विषाक्त मदिरा सेवन गरेर ज्यान गुमाएका ४ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ ।

कुवेतस्थित नेपाली दूतावासले घटनामा मृत्युवरण गरेकामध्ये ४ वटा शव नेपाल पठाएर परिवारले बुझिसकेको जानकारी दिएको हो ।

दूवातावासले थप एक नेपालीको शव बुधबार पठाउन लागिएको समेत उल्लेख जनाएको छ ।

दूतावासका श्रम सहचारी गिरीजाप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवनबाट कुवेतमा केही दिनको फरकमा १२ जना नेपालीको मृत्यु भएको थियो ।

यद्यपि, पत्रकार महासङ्घ कुवेत शाखाले भने १६ जना नेपालीको मृत्यु भएको उल्लेख गरेको छ ।

आचार्यले मृत्यु भएका बाँकी श्रमिकको शव पठाउन प्रक्रिया चलिरहेको बताएका छन् ।

उक्त घटनामा परेका १५ जना नेपालीको कुवेतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

जसमध्ये १२ जना आइसियुमा छन् ।

कुवेतमा मदिरा उत्पादन, बिक्री वितरण र सेवन प्रतिबन्धित छ ।

तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्ने घटनामा नेपालीहरू संलग्न हुँदै आएका छन् भएका हुन् ।

अघिल्लो हप्ताको यस घटनमा संलग्न रहेको आरोपमा २ जना नेपाली पक्राउ परेका छन् ।

बिरामी परेकाहरूलाई समेत डिस्चार्ज पछि देश निकाला गर्नेगर्ने तयारी छ ।

आजै प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्यहाँ नेपाली कामदारको भएको मृत्युबारे संसद्‌मा जानकारी गराउन माग गरेका थिए ।

शर्माझैँ नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौडेलले समेत घटनाबारे जानकारीको माग गरेकी छिन् ।

कुवेतमा करिब १ लाख ३० हजार नेपाली कार्यरत रहेको अनुमान छ ।