इजरायले गाजा सहर कब्जा गर्ने योजनाको तयारी थालेको छ ।
यसका लागि इजरायली सेनाले ६० हजार रिजर्भ सेनालाई ड्युटीमा बोलाएको छ ।
इजरायली सेनाले गाजा सहर कब्जा गर्न र पूर्ण नियन्त्रण लिनका लागि स्थल आक्रमण गर्नुअघि ठुलो सङ्ख्यामा सेनाहरूलाई बोलाएको हो ।
गाजा सहर कब्जा गर्ने योजनालाई इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले पारित गरिसकेको छ ।
त्योसँगै जैतुन र जबालिया क्षेत्रमा सेना पहिले नै तैनाथ गरिएको छ ।
पहिलो चरणमा सेनालाई गाजा सहरमा बसोबास गर्ने लाखौँ प्यालेस्टिनीहरूलाई खाली गराएर दक्षिणी गाजामा रहेका आश्रय स्थलहरूमा सर्ने आदेश दिइने अनुमान गरिएको छ ।
गाजामा युद्ध बिराम गर्न हमास तयार रहेको पृष्ठभूमिमा इजरायलले भने यो कदम अघि सारेको हो ।
इजरायलको यस योजनाको संयुक्त राष्ट्र सङ्घ, बेलायत, फ्रान्स लगायतका धेरैले आलोचना गरेका छन् ।