धार्मिक प्रचारमा संलग्न इन्डोनेशियाका ३ जना नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ ।
पर्यटक र अध्ययन भिसामा नेपाल आएर शंकास्पद् गतिविधि गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको विभागले जनाएको हो ।
पक्राउ पर्ने तीनै जना महिला छन् ।
विभागका अनुसार तीमध्ये एक जना पर्यटक भिसा र दुई जना अध्ययन भिसामा नेपाल आएका हुन् ।
तर, कुनै पनि शैक्षिक संस्थामा उनीहरू भर्ना नभएको अनुसन्धानबाट खुलेको छ ।
अध्ययन भिसामा आएर उनीहरू ललितपुरको धोबीघाटमा मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेशी समाजमा गर्ल्स होस्टेल चलाउने र ती महिलाहरूलाई शिक्षकको रूपमा राखिएको पाइएको अध्यागमन स्रोतको भनाइ छ ।
उनीहरूले त्यहाँ टर्कीस र कुरान भाषा सिकाउनुका साथै मुस्लिम धर्मको प्रचाप्रसार पनि गर्ने गरेको पाइएको हो ।
उक्त संस्थाले अन्तर्राष्ट्रिय संस्थाबाट धर्म प्रचारका नाममा प्रत्येक वर्ष दुई करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
विभागका अनुसार उक्त होस्टेलमा ५० जना छात्राहरूलाई कुरान पढाइ राखेका बेला इन्डोनेसियाका ती महिलाहरूलाई पक्राउ गरिएको थियो ।
ती छात्राहरू अन्य शैक्षिक संस्थामा अध्ययन नगरेको पाइएको विभागको भनाइ छ ।
त्यस्तै ललितपुरकै ज्वागलमा ब्वाइज होस्टेलसमेत राखी विभिन्न जिल्लाका व्यक्तिहरूलाई कुरान पढाउने र धर्मको प्रचारप्रसार गरेको पाइएपछि उनीहरूविरुद्ध थप अनुसन्धान गरिरहेको छ ।