मुलुक भित्रिने रेमिटेन्स

असारमा नयाँ रेकर्ड बनाउँदै १ वर्षमा भित्रियो १७ खर्ब बढी रेमिटेन्स

आप्रवासन आप्रवासन

गएको असार महिनामा पनि मुलुक भित्रिने रेमिटेन्सले नयाँ रेकर्ड कायम गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार गत असारमा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।

असारमा भित्रिएको रेमिटेन्स हालसम्मकै उच्च हो ।

अघिल्लो वर्षको असारमा १ खर्ब १७ अर्ब ७८ करोड रेमिटेन्स आएको थियो ।

गएको फागुन महिनायता मुलुक भित्रिने रेमिटेन्सले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ ।

गत फागुनमा १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।

त्यसपछि चैतमा १ खर्ब ४० अर्ब, वैशाखमा १ खर्ब ६५ अर्ब र जेठमा १ खर्ब ७६ अर्ब रेमिटेन्स आएको थियो ।

रेमिटेन्सका यी नयाँ रेकर्डले आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा रेमिटेन्स आप्रवाह १९ दशमलव २ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।

गत आर्थिक वर्ष अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १६ दशमलव ३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव ५ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा वृद्धि भएसँगै त्यसको प्रभाव रेमिटेन्स आप्रवाहमा परेको हो ।

गत आर्थिक वर्ष अन्तिम श्रम स्वीकृति लिई ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिई ३ लाख ३३ हजार ३०९ नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

अघिल्लो आर्थिक वर्ष यो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ थियो।