फिलिपिन्सबारे घरेलु कामदार

५०० डलर तलबबिना फिलिपिन्सले घरेलु कामदार नपठाउने

आप्रवासन आप्रवासन

फिलिपिन्सले वैदेशिक रोजगारीमा जाने घरेलु कामदारहरूका लागि न्यूनतम मासिक तलब तोकेको छ ।

फलिपिन समाचार संस्थाका अनुसार श्रम विभागले विदेशमा काम गर्न जाने घरेलु कामदारका हकमा ५ सय अमेरिकी डलर न्यूनतम तलब तोकेको हो ।

आजको विनिमय दर अनुसार सो रकम झन्डै ७० हजार रुपैयाँ बराबर हो ।

यसअघि फिलिपिन्सले घरेलु कामदारका हकमा ४ सय अमेरिकी डलर तलब निर्धारण गरेको थियो ।

अब खाडी वा अन्य देशका रोजगारदाताले सो न्यूनतम तलब दिने सहमति गरेपछि मात्र फिलिपिन्सले घरेलु कामदार पठाउने भएको छ ।

श्रम विभागका अनुसार न्यूनतम तलब सीमा ६० दिनपछि लागू हुने छ ।

त्यसपछि ५०० अमेरिकी डलर मासिक तलब भएका घरेलु कामदारको श्रम स्वीकृति जारी वा नवीकरण नगर्ने विभागको भनाई छ ।

विदेशमा रहेका फिलिपिनो घरेलु कामदारहरूको हक अधिकार संरक्षण र अवस्था सुधार गर्ने उद्देश्यले तलबमा वृद्धि गरिएको विभागको भनाई छ ।

फिलिपिन्स खाडी देशहरूमा घरेलु कामदार पठाउने प्रमुख स्रोत मुलुक मध्येको एक हो ।

नेपालले भने लामो समयदेखि घरेलु कामदार पठाउन रोक लगाउँदै आएको छ ।

फलस्वरूप, दलालहरूले नेपाली महिला घरेलु कामदारलाई अवैध बाटो हुँदै खाडी देश पुर्‍याउने गरेका छन् ।

जसले गर्दा नेपाली कामदारले आधारभूत तलब र अन्य सुविधा पाउन सकेका छैनन् ।

यस्तै, नेपाल सरकारले प्रदान गर्ने सहायताबाट समेत वञ्चित हुँदै आएका छन् ।

त्यसैले फिलिपिन्सको यो कार्य नेपालका लागि उदाहरण बन्न सक्छ ।

जसलाई देखाउँदै नेपालले समेत खाडी देशहरूसँग सम्झौता गर्न सक्छ र घरेलु कामदार पठाउन पुन सुरुवात गर्न सक्छ।