ट्रम्प-किम भेट

उत्तर कोरियाको प्रशंसा गर्दै ट्रम्पले भने, “किमलाई यसै वर्ष भेट्न चाहन्छु”

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई यसै वर्ष भेट्ने इच्छा जाहेर गरेका छन् ।

ह्वाइट हाउसमा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँगको भेटघाटका क्रममा ट्रम्पले किमसँग यसै वर्ष आफूले भेट्न चाहेको बताएका हुन् ।

ट्रम्पले भने, “मेरो र उत्तर कोरियाली नेताबिच धेरै राम्रो सम्बन्ध छ । म उनलाई बुझ्छु, मैले उनको साथ धेरै समय बिताएको छु, हामीले सायद छलफल गर्न नहुने विषयहरूमा कुरा गरेका छौँ । मलाई उनको साथ धेरै राम्रो लाग्छ । मलाई लाग्छ कि उनको देशमा अपार सम्भावनाहरू छन् ।”

विभाजन र युद्धको घाउ निको पार्ने वाचा गरेका दक्षिण कोरियाका नयाँ राष्ट्रपति लीले ट्रम्पसँगको भेटमा आफू समेत उत्तर कोरियाली समकक्षीलाई भेट्न पर्खिरहेको बताएका थिए ।

“मलाई आशा छ कि तपाईँले कोरियाली प्रायद्वीपमा शान्ति ल्याउन सक्नुहुन्छ, तपाईँ किमसँग भेट्न सक्नुहुन्छ र उत्तर कोरियामा ट्रम्प टावर बनाउन सक्नुहुन्छ ताकि म त्यहाँ गल्फ खेल्न सकूँ,” लीले भने।

त्यसपछि ट्रम्पलाई ओभल अफिसमा उपस्थित पत्रकारहरूले यस वर्ष वा अर्को वर्ष किमसँग भेट्नुहुन्छ भनेर प्रश्न गरेका थिए ।

जसको जवाफमा ट्रम्पले भने, “म यसै वर्ष उनलाई भेट्न चाहन्छु ।”