वैदेशिक रोजगार सम्बन्धी ठगी

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ पक्राउ

आप्रवासन आप्रवासन

आकर्षक तलब सुविधाको प्रलोभनमा पारी इजरायल र जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । 

पीडितहरूको उजुरीका आधारमा प्रहरीले स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुशन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घलेलाई पक्राउ गरेको हो । 

जसमध्ये सुशनमाथि इजरायल पठाइदिने भन्दै एक व्यक्तिबाट १२ लाख रुपैयाँ लिएको उजुरी छ । 

योगेन्द्रमाथि भने जापान पठाइदिने भन्दै एक व्यक्तिबाट ६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई काठमाडौँबाट पक्राउ गरेको हो ।

दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति उनीहरूलाई वैदेशिक रोजगार विभागमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।