भारतमाथि अमेरिकी ट्यारिफ

भारतमाथि अमेरिकाको ट्यारिफले ४८ अर्ब डलरको निर्यात प्रभावित हुने अनुमान

आप्रवासन आप्रवासन

अमेरिकी सरकारले भारतीय आयातमा ५० प्रतिशत ट्यारिफ (भन्सार महसुल) लागू गरेसँगै यसले ठूलो तरंग ल्याएको छ ।

भारतले रुसी तेल खरिद गर्न नछोडे २७ अगस्टदेखि भारतबाट अमेरिका भित्रिने वस्तुहरूमा ट्यारिफ बढाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएका थिए । भारतले इन्धन खरिदलाई निरन्तरता दिएसँगै बुधबारदेखि चर्को ट्यारिफ लागू भएको हो ।

यसबीच भारतले ‘स्वदेशी अभियान’ मजबुत बनाउने र जतिसुकै दबाब आए पनि सामना गर्ने अठोट लिएको छ । अमेरिकी सरकारको चर्को दबाबबीच विगत केही वर्षयता तिक्ततापूर्ण सम्बन्ध राखेका दुई छिमेकी भारत र चीन भने नजिकिएको विश्लेषण भारतीय र अन्य सञ्चारमाध्यमहरूको छ । भारतले सस्तोमा रुसी तेल किनेर युक्रेनसँगको युद्धमा रुसलाई आर्थिक सहयोग गरिरहेको अमेरिकाको आरोप छ ।

भारतले यो तर्कहीन भएको र ५० प्रतिशत ट्यारिफ लगाउनु अनुचित भएको प्रतिक्रिया दिएको छ । यसअघि घनिष्ठ सम्बन्ध भएका राष्ट्रका रूपमा चिनिएका अमेरिका र भारत हाल आमनेसामने भएका हुन् । अमेरिकी धम्कीको भारतले डटेर प्रतिउत्तर दिइरहेको छ भने भारतलाई आत्मनिर्भर बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

उनले अमेरिकी ट्यारिफले पार्ने आर्थिक प्रभावलाई न्यूनीकरण गर्न भारतमा करका दर घटाउने वाचासमेत गरेका छन् । मोदीले दिवालीको समयमा सबैलाई करमा उल्लेख्य छुट उपहार दिने बताएका छन् । यसबाट साना व्यापारी र आम मानिसलाई राहत हुने उनको अपेक्षा छ ।

उनले भारतलाई आफ्नै बलबुतामा निर्भर बनाउने दाबीसमेत गरेका छन् । बुधबार अहमदाबादमा बोल्दै उनले भारतको आर्थिक शक्ति मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याएका थिए । भारतले रुसबाट पेट्रोलियम पदार्थ आयात गरेर रुस–युक्रेन युद्धलाई सघाइरहेको अमेरिकाको आरोप छ ।

आफूहरूले स्पष्ट आपत्ति जनाउँदासमेत भारतले तेल खरिदलाई निरन्तरता दिएको भन्दै ट्रम्पले बुधबार भारतीय वस्तुहरूको आयातमा भन्सार दर ५० प्रतिशतसम्म पुर्‍याएका हुन् । यस घोषणाले भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशतले संकुचन आउन सक्ने भारतीय अर्थविद्हरूको विश्लेषण रहेको ‘द इकोनमिक टाइम्स’ ले जनाएको छ ।