जापानका प्रधानमन्त्रीको राजीनामा

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने‍

आप्रवासन आप्रवासन

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेका छन्।  सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) भित्रको विभाजन रोक्नका लागि उनले यो कदम चालेको जापानी सञ्चारमाध्यम एनएचकेले जनाएको छ ।

इशिबाको गठबन्धन सरकारले जुलाईमा भएको माथिल्लो सदन (हाउस अफ काउन्सिलर्स) को चुनावमा हार बेहोरेको थियो। यसका लागि उनले हालसालै माफी माग्दै राजीनामाबारे निर्णय लिने बताएका थिए ।

चुनावी हारपछि एलडीपीभित्र ‘इशिबा हटाऊ’ अभियान तीव्र भएको थियो। पार्टीका केही नेता तथा सांसदहरूले उनको नेतृत्वमाथि प्रश्न उठाएपछि उनको स्थिति कमजोर बनेको थियो ।

अब उनी हटेपछि एलडीपीमा नयाँ नेतृत्वको दौड सुरु हुन सक्छ। यस दौडमा सानाए ताकाइची, ताकायुकी कोबायाशी र शिन्जिरो कोइजुमी लगायतको नाम चर्चामा रहेको छ। इशिबाको लिबरल डेमोक्रेटिक पार्टी र त्यसको सहयोगी दलले जुलाईमा भएको चुनावमा देशको माथिल्लो सदनमा आफ्नो बहुमत गुमाएको थियो। यद्यपि, त्यतिबेला उनले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका थिए ।

जापानी संसदको माथिल्लो सदनमा कुल २४८ सिट छन्। इशिबाको गठबन्धनसँग पहिले नै ७५ सिट थियो । बहुमत कायम राख्नका लागि उनीहरूलाई यस चुनावमा कम्तीमा ५० नयाँ सिट आवश्यक थियो, तर उनीहरूले केवल ४७ सिट मात्र जित्न सके, जसमा एलडीपीले ३९ सिट पाएको थियो ।

यो हार प्रधानमन्त्री इशिबाका लागि दोस्रो ठूलो राजनीतिक असफलता थियो। यसअघि अक्टोबरमा तल्लो सदनको चुनाव हारेपछि अब यो गठबन्धन दुवै सदनमा अल्पमतमा परेको थियो। सन् १९५५ मा स्थापना भएको एलडीपीले दुवै सदनमा बहुमत गुमाएको यो पहिलो पटक हो ।