बोल्सनारोलाई २७ वर्षको जेल सजाय

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सनारोलाई ‘कू’ को षड्यन्त्र गरेको भन्दै २७ वर्षको जेल सजाय

आप्रवासन आप्रवासन

ब्राजिलको सर्वोच्च अदालतले राजनीतिमा तरंग ल्याउने एक ऐतिहासिक फैसला गरेको छ ।

अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सनारोलाई सन् २०२२ को चुनावी हारपछि सत्तामा रहिरहन ‘कू’ को षड्यन्त्र रचेको आरोपमा दोषी ठहर गर्दै २७ वर्ष तीन महिना लामो जेल सजाय सुनाएको छ ।

यो फैसलाले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो प्रजातन्त्रमा राजनीतिक विभाजनलाई थप गहिरो बनाइदिएको छ भने संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा समेत चिसोपना ल्याउन सक्ने अनुमान गरिएको छ।

सन् २०१९ देखि २०२२ सम्म ब्राजिलको नेतृत्व गरेका दक्षिणपन्थी नेता बोल्सनारोलाई पाँचवटा गम्भीर मुद्दामा दोषी पाइएको हो । सर्वोच्च अदालतको पाँच न्यायाधीशको प्यानलमा चार न्यायाधीशले उनलाई दोषी ठहराउने पक्षमा मतदान गरे भने एक न्यायाधीश लुइज फुक्सले मात्र उनको पक्षमा मत दिँदै सबै आरोपबाट सफाइ दिनुपर्ने बताएका थिए ।

७० वर्षीय बोल्सनारो हाल राजधानी ब्रासिलियास्थित आफ्नो निवासमा नजरबन्दमा छन् । उनका वकिलहरूले यस फैसलाविरुद्ध सर्वोच्च अदालतकै ११ सदस्यीय पूर्ण इजलासमा पुनरावेदन गर्ने बताएका छन् । बोल्सनारोले भने आफूमाथि लागेका सम्पूर्ण आरोपहरूलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै अस्वीकार गर्दै आएका छन् ।

उनी अदालतको सुनुवाइमा आफैँ उपस्थित नभई आफ्ना वकिलहरूमार्फत प्रतिनिधित्व गराइरहेका थिए । अदालतको कठोर टिप्पणी र फैसलाको आधार यो मुद्दाको अनुगमन गरिरहेका न्यायाधीश अलेक्जेन्डर डी मोरेसले मंगलबार आफ्नो फैसला सुनाउँदै बोल्सनारोलाई ‘कू’ को षड्यन्त्र र एक आपराधिक संगठनको ‘निर्माता र नाइके’ को रूपमा चित्रण गरेका थिए ।

उनले नै बोल्सनारोलाई दोषी ठहराउन मतदानको नेतृत्व गरेका थिए। अभियोजकहरूले पेस गरेका प्रमाणहरूमा बोल्सनारो र उनका निकट सहयोगीहरूबीच भएका गोप्य बैठकका विवरण, कूको योजना समेटिएका दस्तावेजहरू र वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई सत्तामा आउनबाट रोक्न सेनालाई उक्साएको जस्ता तथ्यहरू समावेश थिए।