इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कतारमा रहेका हमासका नेताहरूमाथि हमला गर्न सकिने बताएका छन् । उनले भने, “उनीहरू जहाँसुकै भए पनि कुनै पनि प्रकारको उन्मुक्ति दिइएको छैन ।”
गतहप्ता कतारको राजधानी दोहामा इजरायलसँग प्रस्तावित शान्ति वार्तामा संलग्न भएका हमासका शीर्ष नेताहरूमाथि इजरायलले हमला गरेको थियो ।
अमेरिकालगायत धेरै देशले इजरायलको उक्त कदमको आलोचना गरेका थिए । तर, नेतन्याहूले थप आक्रमणको सम्भावनालाई अस्वीकार गरेका छैनन् । जेरुसेलममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको संयुक्त पत्रकार सम्मेलनमा नेतन्याहूले भने, “हरेक देशलाई आफ्नो सिमाना बाहिर गएर पनि आफ्नो रक्षा गर्ने अधिकार छ ।”
हमासले उक्त हमलामा ६ जनाको मृत्यु भएको तर आफ्ना नेताहरू भने बाँच्न सफल भएको बताएको छ । अमेरिकी भूमिकाबारे नेतन्याहूले यो हमला आफ्नै बलमा गरेको बताए । यसअघि, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलममा इजरायली प्रधानमन्त्री नेतन्याहूसँग भेट गरेका थिए ।
उक्त भेटमा कतारमा भएको आक्रमणपछिको स्थितिबारे छलफल भएको अनुमान गरिएको छ । गत हप्ता हमासका नेताहरूलाई लक्षित गरी गरिएको उक्त हमलाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आलोचना गरेका थिए ।