लिस्बनस्थित पोर्चुगाली संसद भवनअगाडि सयौं आप्रवासीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
उनीहरूले पोर्चुगल सरकारसँग आप्रवासनसम्बन्धी कानुनमा सुधार, नागरिकता प्राप्तिको प्रक्रियालाई सहजीकरण र पारिवारिक पुनर्मिलनका लागि स्पष्ट नीति ल्याउन माग गरेका हुन् ।
प्रदर्शनमा विभिन्न देशका आप्रवासीहरू सहभागी थिए र उनीहरूले ‘आप्रवासीको अधिकार, मानव अधिकार हो’ र ‘हामी पनि यहीँ बस्छौं, यहीँ काम गर्छौं’ जस्ता नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।प्रदर्शनकारीहरूले विशेष गरी हालै पोर्चुगाली सरकारले आप्रवासन नीतिमा गर्न लागेको कडाइप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूका अनुसार प्रस्तावित नयाँ नियमले पोर्चुगलमा लामो समयदेखि कानुनी रूपमा बसोबास गर्दै आएका र काम गरिरहेका आप्रवासीहरूलाई नागरिकता लिन अझ गाह्रो बनाउनेछ । हालको ५ वर्षको कानुनी बसाइपछि नागरिकताका लागि आवेदन दिन पाउने व्यवस्थालाई बढाएर ७ देखि १० वर्ष पुर्याउने प्रस्तावले धेरैलाई निराश बनाएको छ ।
त्यसैगरी, पारिवारिक पुनर्मिलनसम्बन्धी कानुनमा गरिन लागेको परिवर्तनले विदेशमा रहेका परिवारका सदस्यहरूलाई पोर्चुगल ल्याउने प्रक्रिया थप जटिल र लामो बन्ने उनीहरूको गुनासो छ । प्रदर्शनमा सहभागी एक नेपालीले भने, “हामी यहाँ वर्षौंदेखि काम गरेर पोर्चुगलको अर्थतन्त्रमा योगदान दिइरहेका छौं। तर, हाम्रा परिवारलाई सँगै राख्ने अधिकारबाट वञ्चित गर्न खोजिँदैछ। सरकारले हाम्रो अवस्थालाई बुझ्नुपर्छ ।”
आप्रवासीहरूले पोर्चुगलको आप्रवासन तथा एकीकरण एजेन्सी (एआईएमए) को कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन् । उनीहरूले आवासीय अनुमतिपत्र (रेसिडेन्स कार्ड) का लागि आवेदन दिएको लामो समयसम्म पनि कुनै निर्णय नहुने र प्रक्रिया अत्यन्तै ढिलो भएको गुनासो गरेका छन् । यसले गर्दा धेरै आप्रवासीहरूले आफ्नो कानुनी हैसियत र भविष्यबारे अनिश्चितताको सामना गरिरहेका छन् ।