गाजा युद्ध

भिटो प्रयोग गर्दै गाजामा युद्ध रोक्न ट्रम्पको अस्वीकार

आप्रवासन आप्रवासन

अमेरिकाले गाजामा तत्काल र स्थायी युद्धविरामको माग गरिएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक प्रस्तावमा बिहीबार ‘भिटो’ प्रयोग गरेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायलको पक्षमा उभिने निर्णय फेरि दोहोर्‍याएको छ । यही समय इजरायलले सम्पूर्ण गाजा सहर कब्जा गर्नका लागि आफ्नो सैन्य आक्रमणलाई तीव्र पारेको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्का दश निर्वाचित सदस्यहरूले यो मस्यौदा प्रस्ताव पेस गरेका थिए । परिषद्मा रहेका १५ सदस्यमध्ये अमेरिकाबाहेक सबै १४ सदस्यले प्रस्तावको समर्थन गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

यो प्रस्तावमा गाजामा तत्काल, बिनासर्त र स्थायी युद्धविराम जसको सबै पक्षले सम्मान गर्नु, हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकहरूको रिहाइ र मानवीय सहायतामाथि लगाइएका प्रतिबन्धहरू हटाउन आह्वान गरिएको थियो ।

मध्यपूर्वमा अमेरिकी उपविशेष दूत मोर्गन ओर्टागसले वाशिंगटनको ‘भिटो’को बचाउ गर्दै यो प्रस्तावमा अमेरिकाको विरोध कुनै आश्चर्यको कुरा नभएको बताएको अलजजिराले उल्लेख गरेको छ । 

प्रस्ताव हमासको निन्दा गर्न वा इजरायलको आत्मरक्षा गर्ने अधिकारलाई पहिचान गर्न असफल भएको र यसले हमासलाई फाइदा पुर्‍याउने झुटो कथालाई गलत तरिकाले वैधता दिने प्रयास भएको उनले टिप्पणी गरेका छन् । 

भिटोको अर्थ कुनै प्रस्ताव, कानुन वा निर्णयलाई रोक्ने वा अस्वीकार गर्ने अधिकार हो ।  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सबै पाँच स्थायी सदस्यहरूसँग भिटोको शक्ति छ । 

राष्ट्रसंघमा कुनै पनि प्रस्ताव तब मात्र पारित हुन्छ, जब सबै सदस्यहरू त्यसमा सहमत हुन्छन् र कुनै पनि सदस्यले भिटो प्रयोग गर्दैनन् ।

अमेरिकाको यो भिटोमाथि प्यालेस्टिनी र अरब प्रतिनिधिहरूले कडा आलोचना गरेका छन् ।