बेलायतका प्रधानमन्त्री कीयर स्टारमरले आज प्यालेस्टाइनलाई देशको रुपमा मान्यता दिने घोषणाको तयारी गरेका छन्।
बीबीसीका अनुसार बेलायतले यसअघि नै इजरायलाई गाजामा युद्धबिराम गर्ने र प्यालेस्टाइनलाई देशको रुपमा मान्यता दिने कदम नचाले आफूहरुले प्यालेस्टाइनलाई देशको रुपमा मान्यता दिने चेतावनी दिएको थियो। स्थानीय समयअनुसार आज दिउँसो प्रधानमन्त्री स्टारमरले यस्तो घोषणा गर्ने तयारी गरेका छन् ।
यसलाई बेलायतको विदेश नीतिमा ठूलो बदलावका रुपमा हेरिएको छ। बेलायतको यो तयारीमा इजरायल, हमासद्वारा बन्धक बनाइएका व्यक्तिका परिवार तथा कन्जभेर्टिभ पार्टीका नेताहरुले आलोचना गरेका छन्। तर बेलायत सरकारका मन्त्रीहरुले दिगो शान्ति सम्झौताको भरोसाका लागि पनि यस्तो निर्णय लिनुपर्ने नैतिक जिम्मेवारी आइलागेको बताएका छन्।
यस्तै धेरै पश्चिमा देश अब प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने दिशामा अघि बढिरहेका छन् ।
अष्ट्रेलिया, क्यानडा, फ्रान्स, लक्जमबर्ग र माल्टा, पोर्चुगलले समेत प्यालेस्टाइनलाई मान्यता दिने भनिसकेका छन् । विगत २३ महिनामा इजरायली बमबारीबाट गाजामा ६५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । करिब ९० प्रतिशत जनसंख्या विस्थापित भएको छ ।
गाजा सहरमा बस्ने हजारौँ मानिसलाई दक्षिणतिर जान भनिएको छ । तर, धेरै मानिस एकातिर कमजोर भएका छन् भने अर्कोतर्फ उनीहरूसँग बारम्बार विस्थापित भएर सुरक्षित स्थानमा जान साधनस्रोत छैन । राष्ट्रसंघ र अरू एजेन्सीले यो प्रकारको जबरजस्ती विस्थापनले मानवीय संकटलाई थप गम्भीर बनाउने चेतावनी दिइरहेका छन् ।
यसैबीच, युनिसेफले शुक्रबार कुपोषित बालबालिकाका निम्ति पठाइएको जीवनरक्षक खाना सशस्त्र व्यक्तिहरूले लुटेका खुलासा गरेको छ । गाजा सहरमा चार ट्रकबाट उक्त खानेकुरा जबरजस्ती खोसिएको जनाइएको छ ।
इजरायलले त्यसको आरोप हमासलाई लगाएको छ । यद्यपि, राष्ट्रसंघले उनीहरूसँग सहायताको दुरुपयोग रोक्न कडा संयन्त्र रहेको जनाएको छ ।