भारत सरकारले दैनिक उपभोग्य वस्तुमा लामो समयदेखि लगाउँदै आएको जीएसटी कटौती गरेको छ।
गुड्स एण्ड सर्भिस ट्याक्स अर्थात् किराना सामानहरुमा लगाइँदै आएको वस्तु एवम् सेवा कर आजबाट कटौती भएसँगै दैनिक उपभोग्य सामान सस्तिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो कर कटौतीलाई जीएसटी बचत उत्सवको नाम दिएका छन्।
भान्सामा प्रयोग हुने सबैजसो वस्तुमा कर कटौती हुँदा निम्न बर्गीय परिवारले उपभोग्यवस्तुमा सहजता पाउने प्रधानमन्त्री मोदीको घोषणा छ ।
यसमा दुग्धजन्य वस्तुदेखि, खाद्यान्न तरकारी देखि कतिपय इलेक्ट्रिकल सामानहरुसमेत छन्। उपभोक्ताले ९९ प्रतिशतभन्दा बढी बस्तु र सेवा अब ५ देखि १० प्रतिशत सस्तोमा प्राप्त गर्ने मोदीको घोषणा छ।
भारतले दैनिक उपभोग्य वस्तुमा लामो समयदेखि लगाउँदै आएको मूल्य अभिवृद्धि कर भ्याट बन्द गरेर सन् २०१७ देखि जीएसटी लगाउँदै आएको थियो। अनेक प्रकारका कर कटौती गरी एकीकृत करका रुपमा विकास गरिएको भन्दै सरकारले यसलाई करको सुधार पनि भनेको थियो।
तर विपक्षी दलले भने विरोध गर्दै आएका थिए। जीएसटी कटौतीसँगै अब स्वदेशी वस्तु प्रयोग पनि बढ्ने प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा बताएका छन्।