अफगानिस्तानको तालिबान सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्तकी एक साता लामो भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् । सन् २०२१ को अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि काबुलबाट नयाँ दिल्लीमा भएको यो पहिलो मन्त्रीस्तरीय भ्रमण हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘अफगानिस्तानका विदेशमन्त्री मौलवी अमिर खान मुत्तकीलाई नयाँ दिल्लीमा न्यानो स्वागत छ । हामी उहाँसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा वार्ताका लागि उत्सुक छौँ ।’
यो भ्रमणले भारतीय विदेश मन्त्रालयसामु एउटा अनौठो कूटनीतिक संकट सिर्जना गरेको छ । मुत्तकीले शुक्रबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने सम्भावना छ । तर, भेटवार्ताको समयमा कुन देशको झण्डा प्रयोग गर्ने भन्ने प्रश्नले भारतलाई अप्ठ्यारोमा पारेको छ ।
भारतले अहिलेसम्म तालिबान नेतृत्वको अफगान सरकारलाई आधिकारिक मान्यता दिएको छैन । यही कारणले भारतले नयाँ दिल्लीस्थित अफगान दूतावासमा तालिबानको झण्डा फहराउन अनुमति दिएको छैन । दूतावासमा अझै पनि पूर्वराष्ट्रपति असरफ गनी नेतृत्वको ‘इस्लामिक रिपब्लिक अफ अफगानिस्तान’कै झण्डा फहराइन्छ ।
तर, कूटनीतिक प्रोटोकल अनुसार जब दुई देशका मन्त्रीहरूबीच भेटवार्ता हुन्छ, तब आयोजक र पाहुना दुवै देशको झण्डा उनीहरूको पछाडि वा टेबलमा राख्नुपर्ने हुन्छ । भारतले तालिबानलाई मान्यता नदिएकाले यो संकटबाट पार पाउन भारतीय अधिकारीहरूले विकल्प खोजिरहेका छन् ।