अफगानिस्तान र पाकिस्तानबीचको तनाव बढ्दै गइरहेको छ । यसैबीच, अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानका रक्षामन्त्रीसहित सैन्य अधिकारीहरूलाई भिसा दिन अस्वीकार गरेको अफगानिस्तान का संचारमाध्यमले जनाएका छन् ।
तालिबानले भिसा दिन अस्वीकार गरेका अधिकारीहरूमा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ, गुप्तचर प्रमुख अमिस मलिकसहित अन्य दुई जनरलहरूको नाम समावेश छ ।
यी अधिकारीहरूले पछिल्ला तीन दिनमा अफगानिस्तान आउनका लागि छुट्टाछुट्टै आवेदन दिएकोमा काबुलले ती सबैलाई खारेज गरिदिएको बताइएको छ ।
यस विषयमा तालिबान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले उक्त कुराको पुष्टि गरेका छन् । उनले पाकिस्तानी वायुक्षेत्रको उल्लंघनका कारण उनीहरूको प्रतिनिधिमण्डललाई आउने अनुमति नदिएको बताए ।
उनले पाकिस्तानको उच्चस्तरीय प्रतिनिधिमण्डल अफगानिस्तान आउन चाहे पनि हवाई क्षेत्रको उल्लंघनका कारण उनीहरूलाई अनुमति नदिइएको बताए । पाकिस्तानका तर्फबाट यो भिसा अस्वीकृतिको बारेमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
हालै पाकिस्तानले अफगान क्षेत्रमा हवाई हमला गरेकोमा यसको जवाफी कारबाहीमा आफूहरूले डुरन्ड लाइननजिक ५८ पाकिस्तानी सैनिक मारेको, ३० जनालाई घाइते बनाएको र २५ सैन्य चौकीहरू कब्जा गरेको अफगानिस्तानले दाबी गरेको छ ।