भारतको राजस्थानमा मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको यात्रुहरूले भरिएको एक बसमा अचानक सर्ट सर्किटका कारण आगलागी भएको छ ।
जसमा महिला, बालबालिकासहित २० जना यात्रु जिउँदै जले । दुर्घटनामा पन्ध्र जना गम्भीर रूपमा जलेका थिए र उनीहरूलाई जोधपुर रिफर गरिएको थियो । धेरैजसो ५० देखि ७० प्रतिशत जलेका थिए । बसमा ५७ जना सवार थिए ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा २० जना यात्रुको मृत्यु भएको हो । बस नयाँ रहेको खुलेको छ । यो अक्टोबर १ मा मात्र दर्ता भएको थियो, र यो सम्भवतः यसको तेस्रो यात्रा थियो । नयाँ बस पूर्ण रूपमा एसी ग्यासले सुसज्जित थियो ।
ब्याट्रीमा सर्ट सर्किट भएको कारणले एसीको तार पनि जलेको थियो । पर्दा र ज्वलनशील रेजिन सिटहरूमा आगो लागेपछि आगो झनै तीव्र भएको थियो ।
जैसलमेरबाट जोधपुरसम्म लगभग १० किलोमिटर टाढा रहेको थैयत रोडमा रहेको युद्ध संग्रहालय नजिकै बसको पछाडिबाट धुवाँ निस्कियो र सम्पूर्ण बस पूरै आगोको ज्वालामा परिणत भयो । धेरै यात्रुहरूले आफ्नो ज्यान बचाउन झ्यालबाट हाम फालेका थिए ।
प्रत्यक्षदर्शीहरूका अनुसार घटना भएको ४५ देखि ५० मिनेटसम्म पनि दमकल घटनास्थलमा पुगेको थिएन । सेनालाई जानकारी गराएपछि जेसीबी घटनास्थलमा आइपुग्यो । सेनाले बसको गेट फोडेर फसेका यात्रुहरूलाई उद्धार गर्न जेसीबी प्रयोग गरेको थियो ।
शवहरूको पहिचान गर्न डीएनए परीक्षण गरिनेछ ।