हमासले अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताका सर्तअनुसार थप दुई इजरायली बन्धकहरूको शव हस्तान्तरण गरेको जनाएको छ । तर, गाजाका भग्नावशेषबाट बाँकी मृतकहरूको शव निकाल्न आफूलाई समय र विशेष उपकरण आवश्यक पर्ने बताएको छ ।
उक्त समूहको सशस्त्र शाखाले विज्ञप्ति जारी गर्दै सम्झौताप्रति आफू प्रतिबद्ध रहेको तर आफूले सम्भव हुनसक्ने सबै बन्धकहरूको शव फिर्ता गरिसकेको उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले सम्झौताका प्रावधानहरू पालना नगरेमा इजरायली सेनाले गाजामा पुनः लडाइँ सुरु गर्नसक्ने चेतावनी दिएका छन् ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले विज्ञप्तिमा इजरायलले रेड क्रसमार्फत बन्धकहरूको शव राखिएका कफिनहरू प्राप्त गरेको र अहिले आधिकारिक पहिचानको प्रतीक्षामा रहेको जनाएको छ ।
२० बुँदे शान्ति योजना कार्यान्वयनबारे जानकारी दिने वरिष्ठ अमेरिकी सल्लाहकारहरूले बाँकी मृतक बन्धकहरूको अवशेष ननिकालेर हमासले सम्झौता तोडेको ठान्नु नहुने बताएका छन् ।
सल्लाहकारहरूले हमासले जीवित बन्धकहरूलाई फिर्ता गरेर सद्भावका साथ काम गरेको र बन्धकहरूको अवशेष पत्ता लगाउन तथा फिर्ता गर्न विभिन्न मध्यस्थकर्तासँग सहकार्य गरिरहेको बताएका छन् ।
यदि, बुधबार राति फिर्ता गरिएका दुई शव बन्धकका भएको पुष्टि भएमा गाजामा अझै १९ जना बेपत्ता रहनेछन् । गाजा शान्ति योजनाको पहिलो चरणअन्तर्गत हमासले सबै २८ जना मृत बन्धकहरूलाई फिर्ता गर्नुपर्नेछ ।