अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ताका क्रममा ‘ठूलो प्रगति’ भएको बताएका छन् । उनले दुई नेताहरू हंगेरीमा आमने–सामने वार्ता गर्न सहमत भएका छन् ।
उनले अगस्टपछि पुटिनसँगको यो पहिलो फोनवार्ता ‘अति फलदायी’ रहेको बताएका छन् । वासिङ्टन तथा मस्कोका टोलीहरू अर्को हप्ता भेट्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।
यो वार्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणको एक दिनअघि भएको थियो । हालैका दिनमा ट्रम्प युक्रेनलाई रुसको भित्री भागसम्म प्रहार गर्नसक्ने टमाहक मिसाइलहरू दिने तयारीमा थिए ।
अमेरिका आइपुग्दा जेलेन्स्कीले मस्कोले टमहक क्षेप्यास्त्रको बारेमा सुन्नेबित्तिकै संवाद पुनः सुरु गर्न हतार गरिरहेको बताए ।
वार्ता सकिएपछि आफ्नो सामाजिक संजालमा ट्रम्पले आफू र पुटिनले युक्रेनसँगको युद्ध समाप्त भएपछि रूस र संयुक्त राज्य अमेरिकाबीचको व्यापारबारे धेरै समय कुरा गरेको बताए ।
उनले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुबियोले गर्ने गरी अर्को हप्ता दुवै देशका उच्चस्तरीय सल्लाहकारहरू एक गोप्य स्थानमा भेट्ने बताए ।
ट्रम्पले शुक्रबार पुटिनसँगको आफ्नो वार्ताका बारेमा जेलेन्स्कीलाई जानकारी दिने बताए । ट्रम्पले पत्रकारहरूलाई पुटिनलाई दुई हप्ताभित्र भेट्ने अपेक्षा गरेको बताए ।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सामासजक संजाल एक्समा प्रस्तावित बुडापेस्ट बैठकलाई विश्वका शान्तिप्रेमी मानिसहरूका लागि ठूलो खबर भनेका छन् ।
अगस्टमा अलास्कामा भएको शिखर सम्मेलनले शान्ति सम्झौताको मध्यस्थता गर्ने प्रयासमा निर्णायक सफलता हासिल गर्न नसकेपछि युक्रेन युद्धलाई लिएर ट्रम्प पुटिनप्रति कठोर भएका थिए ।