अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य इतिहासमै पहिलो पटक सर्वोच्च स्तरमा पुगेसँगै दक्षिण कोरियामा पनि चाँदी (Silver Bar) आपूर्ति संकट उत्पन्न भएको छ।
कोरियन गोल्ड एक्सचेन्जले हालै केबी कुकमिन, उरी, एनएच नोङह्यप, र शिनहान बैंकलगायत प्रमुख बैंकहरूलाई आगामी अक्टोबर २० तारिखदेखि सन् २०२६ जनवरी १ सम्मका लागि सिल्भर बारको आपूर्ति स्थगित गर्ने निर्णय सुनाएको छ। यस निर्णयका कारण अधिकांश बैंकहरूमा अब चाँदीका उत्पादन किन्न कठिनाइ हुने भएको छ। केही बैंकहरूले त पहिले नै स्टक सकिएपछि बिक्री रोकिसकेका छन्।
एक बैंक अधिकारीका अनुसार, “हालै चाँदीको मूल्य तीव्र गतिमा बढ्दै गएकोले वास्तविक लगानीकर्ताको माग अचानक बढेको छ,” भन्दै उनले थपे, “आपूर्तिको अवस्थाका आधारमा बिक्री पुनः सुरु हुने मिति अहिले तोकिएको छैन ।
वास्तवमा अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य लगातार बढ्दो क्रममा छ। न्युयोर्क कमोडिटी एक्सचेन्जमा १६ अक्टोबरका दिन डिसेम्बर डेलिभरीका लागि कारोबार भएको चाँदीको मूल्य एक ट्रोय औंस प्रति ५२.८ अमेरिकी डलरसम्म पुगेको थियो ।
सोही समयमा सुनको मूल्य पनि नयाँ उच्च स्तरमा पुगेको छ। सोही दिन अन्तर्राष्ट्रिय सुनको मूल्य ४,२५४.८ अमेरिकी डलरसम्म पुगेको थियो। यसले गर्दा गोल्ड बार आपूर्तिमा समेत असर परेको छ।
कोरियन मिन्टिङ एण्ड सेक्युरिटी प्रिन्टिङ एजेन्सीले हालै घोषणा गर्दै आगामी जनवरी १ सम्म गोल्ड बारको सम्पूर्ण उत्पादन र आपूर्ति अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। यसका कारण केही बैंकहरूले सुन बिक्री पनि बन्द गरेका छन् भने केही निजी कम्पनीहरू जस्तै कोरियन गोल्ड एक्सचेन्ज र LS MNM का उत्पादन मात्र सीमित रूपमा बजारमा उपलब्ध छन् ।
विशेषज्ञहरूले सुन र चाँदी दुवैको मूल्य वृद्धि पछाडि दुई प्रमुख कारण रहेको बताउँछन् । पहिलो, विश्व बजारमा सुरक्षित सम्पत्तिप्रतिको आकर्षण बढ्नु, र दोस्रो, अमेरिकी केन्द्रीय बैंक (Fed) ले व्याजदर घटाउने सम्भावना तथा विश्व अर्थतन्त्र सुस्त हुने चिन्ता बढेको हो । यी दुबै कारणले लगानीकर्ताहरू सुन र चाँदी जस्ता स्थायी सम्पत्तितर्फ आकर्षित भइरहेका छन् ।