जेनजी आन्दोलनका प्रभावले २५ हजार श्रमिक रोजगारीबाट विस्थापित

आप्रवासन आप्रवासन

जेनजी आन्दोलनका कारण २५ हजार श्रमिक विस्थापित भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसका अनुसार यो अवधिमा उद्योग प्रतिष्ठानमा भएको क्षति र व्यवसायिक वातावरणमा परेको प्रभावका कारण सो बराबरको संख्यामा श्रमिकले रोजगारी गुमाएका हुन् । युनियनका अनुसार आन्दोलनका कारण आन्तरिक क्षेत्रमा सो बराबरको प्रभाव पर्दा  वैदेशिक रोजगारीमा समेत असर परेको छ । खासगरी आन्दोलनपछि कैदीबन्दी भागेको तथा नेपाली कामदारप्रति रोजगादाता मुलुकको धारणा बदलिएका कारण केही देशले श्रम आपूर्ति नै बन्द गर्ने र केही देशले प्रोत्साहन गर्ने अवस्था भएको अध्यक्ष योगेन्द्र कुँवरले जानकारी दिए । 

कात्तिक २१ र २२ गते महासंघको राष्ट्रिय कार्यसमितिको बैठक बसेको थियो । उक्त बैठकले जेनजी आन्दोलन र यसको प्रभाव समीक्षा गर्दै यसबारे संस्थागत धारणा बनाएको थियो । त्यस्तै, आफ्नो मातृ पार्टीको रुपमा रहेको नेपाली काँग्रेसमा नयाँ नेतृत्वको प्रक्रियाबारे भइरहेका बहसका सन्दर्भमा समेत छलफल भएको थियो । बैठकले सरकारले तोकेको निर्वाचन समयमै हुनुपर्ने तथा यसमा स्वदेश तथा विदेशमा रहेका श्रमिकले आफ्नो कार्यस्थलबाटै मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने जनाएको छ । साथै नवयुवा तथा श्रकिलाई समेत छुट्टै क्लस्टर अनुसार निर्वाचित हुने व्यवस्था गर्न माग गरिएको छ । 

कांग्रेसको वर्तमान कार्यसमितिको अवधि यही मंसिर २० गतेभित्र मात्रै रहेको अवस्थामा आम निर्वाचन अगाडि नै ताजा नेतृत्व चयन गरेर निर्वाचनमा जानुपर्ने महासंघको भनाइ छ । तर, विधानको मूल मर्म बमोजिम नियमित महाधिवेशनमा जानुपर्ने संगठनले निर्णय गरेको महासंघका महासचिव अजयकुमार राईले जानकारी दिए । 

बैठकले पार्टीका विशेष जिम्मेवारीमा रहेका शीर्ष नेतृत्व बाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फ २ पटक भन्दा बढी संसदीय प्रतिनिधिको रुपमा निर्वाचित भएकालाई दोहोरो जिम्मेवारी दिन नहुने र आरक्षित सिटमा एक पटकभन्दा बढी अवसर नपाउने व्यस्था गर्न आह्वान गर्ने निर्णय समेत गरेको छ । 

आफूहरुले २०७० सालमै नेपाली काँग्रेसका सबै संरचनामा एक/एक जना महिला र पुरुष श्रमिकको प्रतिनिधित्व गराउनुपर्ने र नीति निर्माणमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व गर्नेगरी गरेको सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण समेत गराएको छ ।