अस्ट्रेलियाले १६ वर्षमुनिका सोशल मिडिया अकाउन्ट बन्द गराउँदै

आप्रवासन आप्रवासन

अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालक–बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै इन्स्टाग्राम, फेसबुक, थ्रेड्स लगायतका प्लेटफर्ममा उनीहरूको अकाउन्ट बन्द गर्ने प्रक्रिया सुरु गरेको छ। नयाँ कानुनअनुसार डिसेम्बर १० देखि १६ वर्ष मुनिका प्रयोगकर्ताले ती प्लेटफर्म प्रयोग गर्न पाउने छैनन्। त्यसैअनुसार प्लेटफर्मको मालिक कम्पनी मेटाले डिसेम्बर ४ देखि १३–१५ वर्षका प्रयोगकर्तालाई टेक्स्ट, इमेल वा एपमार्फत् अकाउन्ट निष्क्रिय हुने सूचना दिन थालिसकेको छ। 
अस्ट्रेलियाको इन्टरनेट नियामकले सो उमेर समूहका १,५०,००० फेसबुक तथा ३,५०,००० इन्स्टाग्राम प्रयोगकर्ता रहेको अनुमान गरेको छ। प्रतिबन्ध लागू भएपछि नयाँ अकाउन्ट खोल्न नपाइने मात्र होइन, भएका अकाउन्ट पनि बन्द गरिनेछन्। किशोरकिशोरीलाई आफ्नो डेटा—पोस्ट, भिडियो, मेसेज—डाउनलोड गरी सुरक्षित राख्न छुट दिइएको छ। यदि कसैले आफू १६ वर्ष पुगेको दाबी गरेमा मेटाले फेशियल एज स्क्यानलगायतका प्रमाण पेश गर्न भनेको छ। 
कानुन नमान्ने प्लेटफर्मलाई ५ करोड अस्ट्रेलियन डलरसम्मको जरिवाना गर्न सकिनेछ। मेटाका ग्लोबल हेड अफ सेफ्टी एन्टिगोन डेभिसले “१६ वर्ष मुनिका सबै प्रयोगकर्ता हटाउन हामी भरपुर प्रयास गरिरहेका छौं, तर यो निरन्तर र जटिल काम हो,” भने। यसैबीच मेटाले अभिभावकको स्वीकृतिबिना अकाउन्ट खोल्न नदिने विकल्प उपयुक्त हुने तर्क पनि राखेको छ। “किशोरकिशोरी चतुर हुन्छन्, नियम तोड्ने बाटो खोज्न सक्छन्,” मेटाको भनाइ छ। 
इ–सेफ्टी कमिस्नर जुली इन्मान ग्रान्टका अनुसार यो कदम “किशोरहरूलाई सामाजिक सञ्जालको दवाब र जोखिमबाट जोगाउने” लक्ष्यका साथ लागू गरिएको हो। 
प्रतिबन्ध लाग्ने प्लेटफर्मः 
फेसबुक, 
इन्स्टाग्राम, 
किक, 
रेडिट, 
स्न्यापच्याट, 
थ्रेड्स, 
टिकटक, 
एक्स (ट्विटर), 
युट्युब
प्रतिबन्ध नलगाइने प्लेटफर्मः 
डिस्कोर्ड,
गिटहब, 
गुगल क्लासरूम, 
लेगो प्ले, 
मेसेन्जर, 
रोब्लक्स, 
स्टिम÷स्टिम च्याट, 
ह्वाट्सएप, 
युट्युब किड्स