भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले विदेशी विनिमय व्यवस्थापन नियमावली–२०१५ संशोधन गर्दै नेपाल र भारतबीच ठूला दरका भारतीय नोट लैजान–ल्याउन पाउने व्यवस्था गरेको छ।
नयाँ प्रावधानअनुसार १ सय रुपैयाँसम्मका भारतीय नोट जति भए पनि सीमा पार गर्न सकिनेछ भने १ सय रुपैयाँभन्दा माथिका नोट २५ हजार रुपैयाँसम्म मात्र बोक्न पाइनेछ। ठूला दरका नोट केवल यात्रुले आफैँले बोक्न पाइने र पठाएर लैजान भने नपाइने व्यवस्था समावेश गरिएको छ। यसअघिसम्म ठूला दरका नोट नेपालमा ल्याउन पाइए पनि नेपालबाट भारत लैजान अनुमति थिएन।सन् २०१६ मा भारतले गरेको नोटबन्दीपछि दुवै देशबीच ठूला दरका नोटको उपयोग र आवागमनमा कडाइ गरिएको थियो। त्यसबेला नेपालका बैंकिङ प्रणालीमा रहेको करिब ५ करोड भारतीय रुपैयाँ सटही हुन नसकेको आजसम्मको मुद्दा बनेको थियो।
आरबीआईले प्रतिबन्ध खुलाए पनि ठूला दरका नोटलाई नेपालमा चलनचल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकले छुट्टै निर्देशन जारी गर्नुपर्ने आवश्यकता रहेको केन्द्रीय बैंकका प्रवक्ता गुरु पौडेलले बताए। उनका अनुसार भारतले नीति परिवर्तन गरे पनि नेपालले नीतिगत निर्णय नगरेसम्म ठूला दरका नोट नेपालमा औपचारिक रूपमा चल्ने छैनन्।
आरबीआईले यो सुविधा नेपाल र भुटानका नागरिकका लागि मात्र उपलब्ध गराएको छ। साथै संशोधित नियमावलीअनुसार नेपालीले जति पनि नेपाली रुपैयाँ लिएर भारत जान पाइने व्यवस्था छ, तर विदेश जाने नेपाली नागरिकले ५ हजार रुपैयाँभन्दा बढी लैजान नपाइने प्रावधान भने नेपाल राष्ट्र बैंकको तर्फबाट यथावत् छ।
ठूला दरका भारतीय नोटमा प्रतिबन्धका कारण वर्षौंदेखि दुवै देशका पर्यटक र व्यापारिक समुदायले भोग्दै आएको समस्या अब समाधानतर्फ जाने अपेक्षा गरिएको छ।