भारतमा इन्डिगो एयरलाइन्सको उडान अस्तव्यस्त, नेपालमा पनि प्रभाव

आप्रवासन आप्रवासन

भारतमा इन्डिगो एयरलाइन्सका उडानहरू लगातार अव्यवस्थित बन्दै गएपछि त्यसको असर नेपाल–भारत रुटमा पनि प्रत्यक्षरूपमा देखिएको छ। बिहीबार दिउँसो ४ बजे काठमाडौँ अवतरण गर्ने तालिका रहेको सिक्सई–११५५ उडान करिब साढे ७ बजे मात्र अवतरण भयो। यससँगै दिल्ली र मुम्बईबाट काठमाडौँ आउने अन्य तीन उडान पनि करिब एक घण्टा ढिलो उडे। शुक्रबारका उडानहरूमा पनि ढिलाइ हुने देखिएको काठमाडौँ विमानस्थलले जनाएको छ।

इन्डिगोका नेपाल (जीएसए) प्रतिनिधि भोला विक्रम थापाले भारतमा जस्तै नेपालमा उडान रद्द हुने अवस्था नभए पनि एयरबसको आपत्कालीन सफ्टवेयर अपडेटका कारण केही दिन उडान ढिलो हुने जानकारी दिए। भारतमै भने स्थिति निकै गम्भीर बनेको छ। हिन्दुस्तान टाइम्सका अनुसार इन्डिगोले बुधबार मात्रै करिब १५० उडान रद्द ग¥यो, जसका कारण दिल्ली, मुम्बई, हैदराबाद र बेंगलुरुजस्ता मुख्य विमानस्थलमा यात्रुहरू लामो समय फस्ने, कनेक्सन उडान छुट्नेजस्ता समस्याले चर्किएको छ।

सफ्टवेयर अपडेटपछि क्रू–सिड्युलिङ प्रणाली अवरुद्ध हुनु, रात्री उडान समय सीमा कडाइ, साप्ताहिक ४८ घण्टाको अनिवार्य आरामजस्ता नयाँ नियमका कारण पाइलट अभाव झनै गम्भीर बनेको बताइन्छ। नोभेम्बर महिनामा मात्र इन्डिगोले १,२३२ उडान रद्द गरेको थियो, जसको ठूलो हिस्सा क्रू–रोस्टर समस्यासँग जोडिएको भारतीय नागरिक उड्डयन कार्यालयले जनाएको छ। एयरबस ए३२० परिवारका विमानमा आधारित सिङ्गल–फ्लिट मोडेलले अर्को विकल्प नहुँदा इन्डिगो थप प्रभावित भएको विश्लेषण गरिएको छ।

उडान अव्यवस्थित भएपछि भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले इन्डिगोलाई बोलाएर विस्तृत समाधान योजना पेश गर्न निर्देशन दिएको छ। यद्यपि, नेपालतर्फ उडान ढिलोबाहेक रद्द भने नभएको इन्डिगो नेपाल कार्यालयले स्पष्ट पारेको छ।