बेलायती ¥यापरले नेपाली विद्यार्थीलाई ठक्कर दिएको कसुर स्वीकार, माघ २९ मा सजाय सुनाइने

आप्रवासन आप्रवासन

चर्चित ब्रिटिस र्‍यापर ‘गेट्स’ नामले परिचित क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको मृत्यु भएको घटनामा संलग्नता स्वीकार गरेका छन्। लन्डन महानगरीय प्रहरीले आधिकारिक रूपमा जानकारी दिँदै भनेको छ कि ४१ वर्षीय स्यामुयल ३० माइल प्रतिघन्टाको सीमित सडकमा ६० माइलभन्दा बढी गतिमा गाडी चलाइरहेका बेला तामाङलाई ठक्कर दिएका थिए।

गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा सडक पार गर्दै गरेका तामाङलाई ठक्कर दिएर स्यामुयल घटनास्थलबाट भागेका थिए। दुई दिनपछि उपचारको क्रममा तामाङको निधन भयो। सेप्टेम्बरमा ब्रिटेन पुगेका तामाङ युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बिएस्सी बिजनेस म्यानेजमेन्ट’ दोस्रो वर्षमा अध्ययनरत थिए।

महानगरीय प्रहरीका इन्स्पेक्टर मार्क ब्राथवेटले अपराध स्वीकार गर्नु न्यायको यात्रामा महत्वपूर्ण कदम भएको भन्दै तामाङ परिवारप्रति समवेदना व्यक्त गरे। बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले दोषीले अपराध स्वीकार गर्नु पीडित परिवारको न्यायका लागि सकारात्मक कदम भएको बताए।

दुर्घटनापछि भागेका स्यामुयलको घरमा खोजतलास गर्दा उनलाई दर्ता र बिमा गरिएको कार क्षतिग्रस्त अवस्थामै प्रहरीले फेला पारेको थियो।

यस प्रकरणमा स्यामुयललाई अदालतले आगामी माघ २९ मा सजाय सुनाउने जनाइएको छ।