तीन वर्षपछि कतारमा नेसनल डे हुने

आप्रवासन आप्रवासन

कतारको संस्कृति मन्त्रालयले आगामी डिसेम्बर १८ तारिख  (बिहीबार) दोहा कोर्निस क्षेत्रमा राष्ट्रिय दिवसका दिन परेड आयोजना हुने घोषणा गरेको छ । 

तीन वर्षपछि पुनः हुन लागेको यो परेडले राष्ट्रिय एकता, निष्ठा र गौरवलाई भव्य रूपमा प्रस्तुत गर्नेछ ।

मित्र राष्ट्र देशहरूको चुनौती र गाजा क्षेत्रमा भइरहेको मानवीय सङ्कटका कारण केही समय रोकिएको कतार नेसनल डे परेड यस वर्ष पुनः सुरु हुन लागेको हो । 

उक्त परेडको दिन कतारका राजा  अमिर शेख तमिम बिन हमद अल थानीका शब्दबाट प्रेरित राष्ट्रिय दिवसको नारालाई आधार बनाएर आयोजना गरिनेछ, जसले राजा र प्रजा बिचको एकता, समर्पण र राष्ट्रिय गर्व एकतालाई  मजबुत बनाउने मन्त्रालयले जनाएको छ ।

संस्कृति मन्त्रालयका अनुसार, राष्ट्रिय परेड कतारको इतिहास, सांस्कृतिक विरासत र पुस्तौँदेखि गर्दै  आएको राष्ट्रिय पहिचानको प्रतीक हो । 

यसले देशको प्रगतिमा योगदान दिने पूर्वजहरूको बलिदानलाई स्मरण गर्दै नागरिकहरूमा गर्व, निष्ठा र ऐक्यबद्धताको भावना थप प्रबल बनाउनेछ ।

मन्त्रालयले परेडले पुस्ताबिचको निरन्तरता र देशप्रति प्रतिबद्धताको भावना पुनः जागृत गर्दै कतारलाई सम्मान र प्रतिष्ठातर्फ अघि बढाइराख्ने सन्देश दिने बताएको छ ।

राष्ट्रिय दिवस समारोहमा सवारी साधन सजावटको लागि २० डिसेम्बर सम्म अनुमति  दिइएको छ । तर गाडीको रङ परिवर्तन गर्न पाइने छैन । 

अगाडि वा पछाडिको नम्बर  प्लेटहरू अस्पष्ट हुने गरी  ढाक्ने पाइने छैन । अगाडिको विन्डशिल्ड, पछाडिको विन्डशिल्ड, वा चालकको छेउ र अगाडिको यात्रुको छेउका झ्यालहरूमा रङ्ग  लगाउन प्रतिबन्धित गरिएको छ । यद्यपि राष्ट्रिय दिवस समारोहसँग सम्बन्धित  स्टिकरहरू र कतारको राष्ट्रिय झन्डा प्रयोग गर्न पाइने छ ।