भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार असमको दुई दिने भ्रमणका क्रममा गुवाहाटीस्थित लोकप्रिय गोपीनाथ बोरदोलोई अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गरेका छन्। यस अवसरमा प्रधानमन्त्री मोदीले असममा करिब १५ हजार ६ सय करोड भारतीय रुपैयाँ बराबरका विभिन्न विकास परियोजनाहरूको पनि शिलान्यास तथा अनावरण गरे।
असमका मुख्यमन्त्री हिमन्त बिस्वा सरमाले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्रीको स्वागत गर्दै भारतको पहिलो ‘नेचर–थिम’ विमानस्थल टर्मिनल उद्घाटन हुनु असमका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनका अनुसार यो परियोजना प्रधानमन्त्री मोदीको नेतृत्व र असमलाई विकासको प्रमुख केन्द्र बनाउने प्रतिबद्धताका कारण सम्भव भएको हो।
नयाँ टर्मिनल ‘बाँस–अर्किड्स टर्मिनल–२’ फक्सटेल अर्किड फूल र उत्तर–पूर्वी क्षेत्रको स्थानीय बाँसबाट प्रेरित भएर निर्माण गरिएको हो। टर्मिनलको डिजाइन असमको जैविक विविधता र सांस्कृतिक सम्पदालाई झल्काउने खालको छ। यसमा करिब १४० मेट्रिक टन स्थानीय बाँस प्रयोग गरिएको छ।
करिब ४ हजार करोड रुपैयाँ लागतमा बनेको यो टर्मिनल १।४ लाख वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ र वार्षिक १ करोड ३१ लाख यात्रुहरूलाई सेवा दिन सक्ने क्षमताको छ। टर्मिनलमा रनवे, ट्याक्सीवे, एप्रन र एयरफिल्ड प्रणालीमा समेत व्यापक सुधार गरिएको छ।
टर्मिनलभित्र काजीरंगाबाट प्रेरित हरियाली, जापी मोटिफ, गैंडा प्रतीक, ५७ वटा अर्किड–प्रेरित स्तम्भ तथा करिब एक लाख स्थानीय बिरुवा रोपिएको ‘स्काई फरेस्ट’ निर्माण गरिएको छ, जसले यात्रुहरूलाई प्रकृतिसँग जोडिएको अनौठो अनुभव दिनेछ।