अमेरिकाले जनवरी २ र ३ को रातमा भेनेजुएलामा विस्फोटक आक्रमण गर्यो । रातारात १५० अमेरिकी विमान एकै पटक भेनेजुएला प्रवेश गरे ।
भेनेजुएली राष्ट्रपति निकोलस मादुरोको घरभित्र छिरेर अमेरिकी सेनाले उनलाई पक्राउ गर्यो । सेनाले मादुरोसहित उनकी श्रीमती सिलिया फ्लोरेसलाई पनि पक्राउ गर्याे ।
अमेरिकाले मादुरोलाई अपहरण गरेपछि भेनेजुएलामा राष्ट्रपति पद खाली भयो । देशको तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै त्यहाँको सर्वाेच्च अदालतले भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई राष्ट्रपतिको रूपमा स्थापित गर्न आदेश दिएको छ । भेनेजुएलामा अवस्था सामान्य नआएसम्म डेल्सी रोड्रिगेज राष्ट्रपति रहनेछिन् ।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अर्थ र तेलको विभाग पनि सम्हालेकी थिइन् । देशको कमजोर निजी क्षेत्रमा उनको उल्लेखनीय प्रभाव छ । रोड्रिगेजले देशको अति मुद्रास्फीतिसँग लड्न धेरै रूढिवादी आर्थिक नीतिहरू अपनाउँदै आएकी छिन् ।
५६ वर्षीया डेल्सी रोड्रिगेजको जन्म १९६९ को मे १८ मा भएको थियो । उनी वामपन्थी छापामार लडाकु जर्ज एन्टोनियो रोड्रिगेजकी छोरी हुन् । उनको पिताले १९७० को दशकमा क्रान्तिकारी लेगा सोसलिस्टा पार्टीको स्थापना गरेका थिए । काराकासकी मूल निवासी डेल्सीलाई फेसन डिजाइनिङको पनि शोख छ ।
राजनीतिमा प्रवेश गर्नु अघि डेल्सी रोड्रिगेज भेनेजुएलाको केन्द्रीय विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् । पछि उनी वकिल बनिन् । विगत एक दशकमा डेल्सी राजनीतिक करियरले निकै फड्को मारेको छ उनी भेनेजुएलाको सबैभन्दा शक्तिशाली महिलाहरू मध्ये एक हुन् ।
निकोलस मादुरोले आफ्नो राजनीतिक करियरभरि डेल्सी रोड्रिगेजलाई समर्थन गरे । रोड्रिगेजको आगमनले संविधान सभामा मादुरोको प्रभावलाई बढायो ।
मादुरोले आफैँले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा डेल्सी रोड्रिगेजलाई उपराष्ट्रपतिको रूपमा नियुक्त गरेको घोषणा गरेका थिए । नियुक्तिको घोषणा गर्दै मादुरोले उनलाई ‘एक युवा महिला, साहसी, अनुभवी, शहीदकी छोरी, क्रान्तिकारी र हजारौं लडाईंमा परिक्षित’ भनेका थिए ।
उनले २०१३ देखि १४ सम्म सञ्चार र सूचना मन्त्रीको रूपमा काम गरेकी थिइन् । २०१४ देखि २०१७ सम्म रोड्रिगेज विदेश मन्त्री बनिन् । २०१७ मा उनले सरकार समर्थक संविधान सभाको प्रमुख रहिन् । २०१८ मा मादुरोले रोड्रिगेजलाई आफ्नो उपराष्ट्रपति बनाए ।
भेनेजुएलाको सर्वाेच्च अदालतको फैसला आउनुभन्दा पहिले नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेल्सी रोड्रिगेजलाई राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरिसकेको घोषणा गरेका थिए ।
भेनेजुएलालाई फेरि महान् बनाउन आवश्यक पर्ने सबै कुरा गर्न आफू तयार रहेको ट्रम्पले भनेका थिए । अमेरिकाले निकट भविष्यमा भेनेजुएलालाई शासन गर्ने पनि ट्रम्पले भनेका थिए ।