नेपाली भाषा, संस्कृति र इतिहासलाई प्रवासमा संस्थागत रूपमा जोगाउने उद्देश्यसहित नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ युनाइटेड अरब इमिरेट्स (यूएई) बाट औपचारिक प्रकाशन सुरु भएको छ ।
सन् २००८ मा अमेरिकाबाट साप्ताहिक रूपमा सुरु भएको पत्रिका समयक्रममा पाक्षिक हुँदै मासिक रूपमा निरन्तर प्रकाशित हुँदै आएको थियो । अब यूएईलाई नयाँ प्रकाशन केन्द्र बनाएर पत्रिकाको विस्तार गरिएको हो ।
यूएईमा आयोजित विशेष समारोहमा नेपालका राजदूत तेजबहादुर क्षेत्रीले रिबन काटेर पत्रिकाको औपचारिक उद्घाटन गरे । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटाले गरेका थिए ।
समारोहमा विशेष अतिथिका रूपमा विजयराम पौडेल तथा विश्व सन्देश ग्लोबलका अध्यक्ष एवं कार्यकारी प्रमुख योगेश सहभागी थिए । कार्यक्रममा यूएईमा सक्रिय विभिन्न नेपाली संघ–संस्थाका पदाधिकारी, एनआरएनए प्रतिनिधि, व्यवसायी, कलाकार, पत्रकार र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा राजदूत क्षेत्रीले नेपाली समुदायलाई पत्रिका पढ्न, प्रवर्द्धन गर्न र संरक्षण गर्न आग्रह गर्दै ‘विश्व सन्देश’ नेपाली इतिहास, संस्कार र पहिचानको दस्तावेज भएको बताए । उनले नेपाली भाषा र सभ्यताको प्रवर्द्धनमा योगदान गर्ने यस्ता प्रयासमा कूटनीतिक नियोगको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
विश्व सन्देश ग्लोबलका कार्यकारी प्रमुख योगेशले न्यूयोर्कबाट सुरु भएको पत्रिकालाई मध्यपूर्व, एसिया तथा अन्य महादेशहरूमा विस्तार गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिए । आगामी दिनमा पत्रिकालाई पुनः साप्ताहिक रूपमा प्रकाशन गर्ने लक्ष्यसमेत तय गरिएको उनले बताए ।
कार्यकारी अध्यक्ष विजयराम पौडेलले डिजिटल युगमा पनि प्रिन्ट मिडियाको विश्वसनीयता र ऐतिहासिक महत्त्व उच्च रहेको उल्लेख गर्दै प्रवासमा रहेका नेपालीहरूको संघर्ष, सफलता र जीवनकथालाई अभिलेख गर्ने जिम्मेवारी ‘विश्व सन्देश’ ले पूरा गर्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटाले यूएईमा रहेका नेपाली समुदायका उपलब्धि, उद्यमशीलता र सामाजिक गतिविधिलाई उजागर गर्दै जनचेतना अभिवृद्धिमा पत्रिकाले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
झण्डै ८ लाख नेपाली श्रमिक तथा व्यवसायी बसोबास गरिरहेको यूएईमा ‘विश्व सन्देश’ पहिलो नेपाली भाषाको मासिक म्यागाजिनका रूपमा प्रकाशनमा आएको हो । मध्यपूर्व क्षेत्रमा नेपाली भाषामा पत्रिका प्रकाशनको नयाँ इतिहास रच्दै अब यसलाई कतार, साउदी अरेबिया र कुवेतलगायत अन्य देशहरूमा समेत विस्तार गर्ने लक्ष्य लिइएको छ ।