पुल्चोक क्याम्पसका इलेक्ट्रिकल इन्जिनियर पनि चुनावी मैदानमा

आप्रवासन आप्रवासन

जेन–जी आन्दोलनपछि सिर्जित राजनीतिक चेतनाका कारण यसपटक हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा युवाहरूको चासो उल्लेख्य रूपमा बढेको छ। परम्परागत राजनीतिक दलहरूले समेत युवालाई केन्द्रमा राख्दै उम्मेदवार छनोट गर्न थालेका छन् भने देशभर स्वतन्त्र उम्मेदवारका रूपमा पनि धेरै युवाहरू चुनावी मैदानमा उत्रिएका छन्।

यही प्रतिस्पर्धामा पुल्चोक क्याम्पसको विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका इलेक्ट्रिकल इन्जिनियर विमर्श मिश्र पनि सहभागी भएका छन्। मिश्रले मंगलबार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। ‘जेन–जी’ तथा युवा पुस्ताका मुद्दालाई प्राथमिकतामा राख्दै उनले प्रतिनिधि सभा सदस्यका लागि औपचारिक उम्मेदवारी दिएका छन्।

इन्जिनियरिङ उत्तीर्ण गरेपछि विदेश पलायन हुने प्रवृत्ति बढिरहेका बेला मिश्रले भने स्वदेशमै रहेर परिवर्तन सम्भव छ भन्ने सन्देश दिँदै राजनीतिमा प्रवेश गरेका हुन्। एक दक्ष इलेक्ट्रिकल इन्जिनियरका रूपमा प्राविधिक ज्ञान, युवा ऊर्जा र नेतृत्व क्षमतालाई समेटेर ललितपुरको विकास र देशको समृद्धिका लागि स्पष्ट भिजन रहेको उनी बताउँछन्।

उम्मेदवारी दर्तापछि मिश्रले भने, “विद्यार्थीका रूपमा क्याम्पसका समस्या बुझेँ, अब नागरिकका समस्या समाधान गर्न संसद् पुग्न चाहन्छु। ललितपुर–३ ले यसपटक भिजन भएको युवा नेतृत्व खोजेको छ।”

विद्युत् इन्जिनियरको पृष्ठभूमिका कारण उनको विशेष जोड प्राविधिक विकास र पूर्वाधार निर्माणमा रहेको छ। विदेशी विज्ञमा निर्भर हुनुभन्दा स्वदेशकै दक्ष जनशक्ति परिचालन गर्दै रोजगारी सिर्जना गर्ने उनको प्रमुख एजेन्डा रहेको छ। साथै, नीति निर्माण तहमा युवाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै ‘जेन–जी’ का भावना र आवश्यकता राज्यको मूलधारमा ल्याउनुपर्ने कुरालाई उनले प्राथमिकतामा राखेका छन्।

ललितपुर–३ मा नेपाली कांग्रेसबाट जितेन्द्रकुमार श्रेष्ठ, नेकपा एमालेबाट सन्दन थापामगर, नेकपाबाट राजकाजी महर्जन उम्मेदवार छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वसांसद तोसिमा कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सवीन खड्का उम्मेदवार बनेका छन्।