विरासत जोगाउने दाउमा १३ उम्मेदवार, ह्याट्रिकको दाउमा ६ जना

आप्रवासन आप्रवासन

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५ सय ४ जनाले उम्मेदवारी दिएका छन्, त्यसमध्ये १३ जना अघिल्लो निर्वाचनमा विजयी हुन् । जसमध्ये ६ जना लगातार दुई पटक वा सोभन्दा बढी निर्वाचन जित्नेहरू छन् । झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली २०७०, ०७४ र ०७९ सालको निर्वाचनमा विजयी भएका थिए । 

यस्तै, झापा ४ का एमालेका उम्मेदवार एलपी सावा, झापा–३ का राप्रपा उम्मेदवार राजेन्द्र लिङ्देन, मोरङ ४ का नेकपाका उम्मेदवार अमनलाल मोदी, सुनसरी–४ का कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्की र एमाले धनकुटाका राजेन्द्र राई ह्याट्रिक गर्ने दाउमा छन् । उनीहरूले यसअघिको ०७४ र ०७९ को निर्वाचन लगातार जितेका थिए ।

इलाम–१ बाट गएको निर्वाचनमा विजयी सुहाङ नेम्वाङ विरासत जोगाउने दाउमा छन् । उनलाई कांग्रेसका भेषराज आचार्य, नेकपाका ओमबहादुर गुरुङ र रास्वपाका गोकुल राईले चुनौती दिँदैछन् ।

यस्तै, झापा–२ बाट यसअघि विजयी एमालेका देवराज घिमिरे पनि जितको खोजीमा छन् । उनी पूर्वसभामुख पनि हुन् । घिमिरेलाई रास्वपाकी इन्दिरा रानाले चुनौती दिँदैछिन् । राना पूर्वउपसभामुख हुन् । यस्तै, सोही क्षेत्रबाट कांग्रेसकी सरिता प्रसाई, नेकपाका धर्मशिला चापागाई र राप्रपाबाट स्वागत नेपालले उनलाई चुनौती दिँदैछन् ।

यस्तै, झापा–३ बाट यसअघि विजयी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ह्याट्रिक गर्ने दाउमा छन् । २०७४ र २०७९ सालमा यही क्षेत्रबाट विजयी बनेका लिङ्देनलाई एमालेका हरि राजवंशी, रास्वपाका प्रकाश पाठक, नेकपाका डिल्ली घिमिरे तथा कांग्रेसका राजेन्द्र घिमिरेले चुनौती दिँदैछन् ।

झापा–४ मा पनि यसअघिका विजेता एमालेका एलपी सावा आफ्नो विरासत कायम गर्दै ह्याट्रिक गर्ने दाउमा छन् । यद्यपि उनलाई नेकपाका पुरुषोत्तम चुँडाल, कांग्रेसका देउमान थेबे, रास्वपाका शम्भुप्रसाद ढकाल र राप्रपाका भक्तिप्रसाद सिटौलाले चुनौती दिँदैछन् ।

यस्तै, झापा क्षेत्र नम्बर ५ मा ४८ सालयता निरन्तर लड्दै आएका ओली फराकिलो मतान्तरले विजयी हुँदै आएका थिए । ०६४ सालबाहेक सबै निर्वाचनमा शानदार विजयी बनेका उनलाई यस पटक रास्वपाका बालेन शाहले कडा टक्कर दिँदैछन् । यस्तै, नेकपाका रञ्जित तामाङ, कांग्रेसकी मन्दरा चिमरिया र राप्रपाका लक्ष्मी संग्रौलाले पनि ओलीलाई चुनौती दिँदैछन् ।

मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट गएको निर्वाचनमा विजयी सुनिल शर्मा यस पटक पनि जित्न चाहन्छन् । यद्यपि उनलाई रास्वपाका नेता गणेश कार्कीले कडा चुनौती दिने अनुमान गरिएको छ । यो क्षेत्रबाट शर्मालाई एमालेका इरन राई र नेकपाका देउमान सम्बाहाम्फेले पनि चुनौती दिँदैछन् ।

मोरङ–४ मा तत्कालीन माओवादीबाट दुई पटक जितेका अमनलाल मोदी यस पटक जितेर ह्याट्रिक गर्ने दाउमा छन् । उनलाई एमालेका जीवन घिमिरे र कांग्रेसका गुरुराज घिमिरेले कडा टक्कर दिँदैछन् । यहाँबाट रास्वपाका सन्तोष राजवंशी पनि मोदीसँग प्रतिस्पर्धामा छन् ।

मोरङ–५ मा यसअघि विजयी बनेका योगी मण्डल यो पटक पनि उम्मेदवार छन् । ०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका उनी यस पटक आफैँ राष्ट्रिय ऊर्जाशील पार्टी खोलेर चुनावी मैदानमा छन् । मण्डललाई नेकपाका शिवकुमार मण्डल, जसपाका राजकुमार यादव, एमालेका मनोज अग्रवाल र कांग्रेसका फूलकुमार लालवानीले पनि चुनौती दिँदैछन् ।

यस्तै, मोरङको क्षेत्र नम्बर ६ बाट जितेर पुनः संसद्मा जाने दाउमा छन् कांग्रेस नेता डा. शेखर कोइराला । उनलाई यस पटक एमालेका विनोद ढकालले कडा टक्कर दिँदैछन् । सो क्षेत्रबाट नेकपाका ओपेन्द्र राय र रास्वपाकी रुविना आचार्यले पनि चुनौती दिँदैछन् ।

यस्तै, सुनसरी–३ बाट यसअघि विजयी बनेकी एमालेकी भगवती चौधरी यस पटक पनि आफ्नो विरासत कायम गर्न चाहन्छिन्, तर उनले यस पनि पनि कांग्रेसका गत वर्षकै उम्मेदवार विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । गच्छदारले यो निर्वाचन आफ्नो अन्तिम पटक हुने बताउँदै चुनावी मैदानमा छन् । यसका साथै सो क्षेत्रबाट रास्वपाका अशोक चौधरी र नेकपाका दुर्गेश चौधरीले पनि चौधरीलाई चुनौती दिँदैछन् ।

सुनसरी–४ बाट यसअघि दुई पटक विजयी बनेका कांग्रेस नेता ज्ञानेन्द्र कार्की यस पटक पनि जितेर ह्याट्रिक गर्ने दाउमा छन् । उनलाई एमालेका जगदीश कुसियैतले कडा टक्कर दिँदैछन् । सो क्षेत्रबाट नेकपाका मोहम्मद महफुज अन्सारीले पनि चुनौती दिँदैछन् ।

यस्तै, धनकुटाबाट यस पटक जितेर ह्याट्रिक हान्ने दाउमा छन् एमालेका राजेन्द्र राई । पूर्वमन्त्रीसमेत रहेका राई ०७४ र ०७९ सालमा विजयी बनेका थिए । उनलाई यस पटक कांग्रेसका दिनेश राई र नेकपाका धर्मप्रसाद पौडेलले चुनौती दिँदैछन् । यहाँ राप्रपाबाट विभत्सु थापा र रास्वपाबाट दिनेश भण्डारी उम्मेदवार बनेका छन् ।

यस्तै, उदयपुर–२ बाट यसअघि विजयी एमालेका अमर रायमाझी यस पटक पनि आफ्नो विरासत जोगाउन चाहन्छन् । उनलाई कांग्रेसका रामकुमार राई, नेकपाका सुरेशकुमार राई र रास्वपाका सूर्यबहादुर तामाङले चुनौती दिँदैछन् ।