कर्णालीका ७ क्षेत्रमा प्रलोपाको उम्मेदवार : ‘हेभीवेट’ शर्मादेखि सहिद पुत्र र बुद्धिजीवीसम्म

आप्रवासन आप्रवासन

जनार्दन शर्मा संरक्षण रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले कर्णालीका ७ वटा क्षेत्रमा उम्मेदवार उठाएको छ ।  

जेनजी युवादेखि बुद्धिजीवीलाई प्रलोपाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी मैदानमा उतारेको हो । जस अन्तर्गत रुकुम पश्चिममा हेभीवेट उम्मेदवारका रूपमा स्वयम् शर्मा मैदानमा छन् । 

०७४ सालपछि लगातार चुनाव जित्दै आएका शर्मा रुकुमको विकासका सूत्रधार मानिन्छन् । माओवादी केन्द्रको उपमहासचिव समेत भइसकेका उनी अहिले प्रलोपा गठन गरेर सोही पार्टीबाट चुनावी मैदानमा छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट गोपाल शर्मा, एमालेबाट नन्दराम शर्मा, कांग्रेसबाट राजु केसी, रास्वपाबाट मानबहादुर शाही चुनावी प्रतिस्पर्धामा छन् ।

यद्यपि पूर्व गृहमन्त्री समेत भइसकेका शर्मा आफ्नो गृह जिल्लामा बलिया छन् ।

उता जुम्लामा बौद्धिक नेता मनऋषि धिताल उम्मेदवार छन् । सधैँ नयाँ अनुहारलाई रोज्ने जुम्लामा धितालको उम्मेदवारीलाई विशेष रूपमा हेरिएको छ । उसो त उनी ०७९ को प्रतिनिधि सभाकै चुनाव लड्न चाहेका थिए । तर त्यो वेला माओवादीले उनलाई टिकट दिएन । 

अहिले प्रलोपाबाट चुनावी मैदानमा होमिएका धिताल युवा र बौद्धिक वर्षबिच परिचित नाम हो । उनले जुम्लामा सामाजिक कार्यहरू समेत गरेका छन् ।

पूर्व पत्रकार धिताल लेखक समेत हुन् । उनका एक दर्जन युद्धकालीन पुस्तकहरू प्रकाशित छन् ।

धिताल १० वर्षे सशस्त्र युद्धका क्रममा युद्धकालीन पत्रकारिता गरेका व्यक्ति हुन् । जुम्ला प्रायः हरेक चुनावमा सांसद नदोहोर्‍याउने जिल्ला हो । अहिले अन्य दलबाट उम्मेदवार बनेकाहरू प्रायः यसअघि परीक्षण भइसकेका नेताहरू छन् । नेकपाबाट नरेश भण्डारी उम्मेदवार छन् । 

साबिक माओवादीको बलियो जनमत रहेको जुम्लामा भण्डारी यसअघि ०६४ मा प्रतिनिधि सभा र ०७४ मा प्रदेश सभा चुनाव जितेका नेता हुन् । राप्रपाबाट पुनः ज्ञानेन्द्र शाही उम्मेदवार छन् भने एमालेबाट शान्तिलाल महत । रास्वपाबाट विनीता कठायत छन् । यद्यपि धिताल सबैतिर चिनिएका र शालीन व्यक्तिमा पर्ने हुँदा उनको उम्मेदवारीलाई जुम्लाले विशेष रूपमा हेरेको नेताहरूको विश्लेषण छ ।

उता हुम्लामा सहिद पुत्र ३० वर्षीय जटिल कार्की प्रलोपाबाट चुनावी मैदानमा छन् । उनका बुबालाई ०५८ साल जेठमा तत्कालीन सरकारले गिरफ्तार गरी हत्या गरेको थियो ।

जटिल युवा नेता युवाहरूबिच लोकप्रिय छन् । यहाँ नेकपाबाट डा. दीपेन्द्र रोकाया, एमालेबाट दल फडेरा र कांग्रेसबाट जयपति रोकाया उम्मेदवार छन् ।

०७० सालमा माओवादी निकट विद्यार्थी संगठनमा आबद्ध उनी सिटिभिटीको उपत्यका जिल्ला समितिमा सदस्य, सचिवालय सदस्य हुँदै सिटिभिटी राष्ट्रिय समितिको प्रमुख सचिव भए । यसअघिको राष्ट्रिय सम्मेलनबाट उपमहासचिवमा निर्वाचित भएका थिए ।

‘अहिलेको चुनाव नियमित नभएर जेनजी विद्रोहका कारण भएको हो,  उक्त विद्रोहको मुख्य एजेन्डा भनेको राजनीतिमा पुस्तान्तरण हुनुपर्‍यो भन्ने हो,’ उनी भन्छन्, ‘त्यसैले पनि म चुनावी मैदानमा होमिएको हो ’

यस्तै प्रलोपाबाट सल्यानमा सन्तोषकुमार राई उम्मेदवार छन् भने डोल्पामा २६ वर्षीय विकास बुढालाई उम्मेदवार बनाएको छ । उनी माओवादी केन्द्र निकट वाईसीएलको सचिवालय सदस्य तथा डोल्पाका इन्चार्जको जिम्मेवारी निभाइसकेका युवा हुन् । यस्तै मुगुमा ऐटनकुमार मल्ल र जाजरकोटमा मेघबहादुर वली उम्मेदवार छन् ।

कालिकोटमा धर्मराज न्यौपानेले उम्मेदवारी दर्ता गरे पनि उनले शुक्रबार फिर्ता गरिसकेका छन् । नेकपा (माओवादी) का खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई समर्थन गर्दै न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

१० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्रहरू रहेका छन् । दैलेख र सुर्खेतका चार वटै निर्वाचन क्षेत्रमा भने प्रलोपाले उम्मेदवार उठाएको छैन ।