काठमाडौं–२ का स्वतन्त्र उम्मेदवार डा. विश्वास बस्नेत को हुन् ?

आप्रवासन आप्रवासन

सामाजिक र राजनीतिक आन्दोलनमा पछिल्लो समय प्रखर अभियन्ताका रूपमा उदाएका डा. विश्वास बस्नेतले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। विशेषगरी जेन-जी पुस्ताको मुद्दालाई केन्द्रमा राखेर राजनीतिमा होमिएका डा. बस्नेतले नेपालको चुच्चे नक्सा जारी गर्न दबाब दिने अभियानदेखि कोरोनाकालको इनफ इज इनफ आन्दोलनसम्म नागरिक अधिकारका पक्षमा दरिलो उपस्थिति जनाउँदै आएका छन्। चिकित्सा क्षेत्रमा मेडिकल इन्टर्नशिप गर्ने विद्यार्थीहरूको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका उनले हालैको जेन-जी आन्दोलनमा समेत अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेलेका थिए।

आन्दोलनका क्रममा डा. बस्नेतले केवल दबाब मात्र सिर्जना गरेनन्, बरु भीडलाई संयमित बनाउँदै बिजुलीबजार–बानेश्वर क्षेत्रमा प्रहरी घेराबन्दीमा परेका सयौं युवाहरूलाई सुरक्षित निकास दिएर सम्भावित अप्रिय घटना टारेका थिए। आन्दोलनकै बीचमा सुरक्षाकर्मीको रक्षा गर्ने, भक्तपुरको भाटभटेनी, कान्तिपुर अस्पताल र महान्यायाधिवक्ताको कार्यालय जस्ता संवेदनशील क्षेत्रलाई क्षति हुनबाट जोगाउने तथा विमानस्थलतर्फ जान खोजेको विशाल जनसमूहलाई रोक्ने जस्ता कार्यले उनको जिम्मेवार र सन्तुलित छवि स्थापित गरेको छ। परम्परागत राजनीतिक दलहरूले युवाका वास्तविक एजेण्डालाई बेवास्ता गरेको र राज्य संयन्त्र उत्तरदायी नभएको दाबी गर्दै उनले पारदर्शिता र नयाँ पुस्ताको नेतृत्वका लागि आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन्।